५८ दिनपछि बुद्ध एयरको हवाई उडान सुरु


दोस्रो बन्दाबन्दीको ५८ दिनपछि बिहीबारदेखि आन्तरिक हवाई उडान सुचारु भएको छ ।

बन्दा बन्दी पहिलेको उडान संख्याको आधारमा अहिलेलाई ५० प्रतिशतमा झारिएको छ । बुध्द एयरले यो अनुपातमा ३१ वटा उडान गर्न पाउने भएको छ ।

३१ उडानबाट झण्डै ३ हजार ८ सय जना यात्रुले उडान भर्न सक्ने बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीका अनुसार उडान सुरु भएको पहिलो दिनका लागि ३ हजार ५ सय वटा बुकिङ भएको छ । “यो हाम्रो लागि निकै उत्साहजनक संख्या हो । पहिलो बन्दाबन्दी पछि भएको उडानमा यत्तिको सहभागिता थिएन”, जोशीले भनेका छन् ।

नागरिक उड्डयन प्राधिकरणको उडान तालिका अनुसार हरेक घण्टामा ७ उडान मात्रै हुने हुँदा विमानस्थलमा भिडभाड देखिएको छैन । कोभिडविरुद्धको निर्देशिका अनुसार उडान सेवा सञ्चालन भइरहेको छ ।

हरेक यात्रुको तापक्रम मापन, ह्याण्ड सेनिटाइजरको व्यवस्था, विमानभित्र मास्क र फेशशिल्डको अनिवार्य प्रयोग जस्ता सुरक्षाका प्रमुख उपायहरु अपनाइएको एयरले जनाएको छ ।

बढीपहिराले बाटोघाटो असहज भएका गन्तव्यमा बुध्द एयरले उडान थप गरेको छ ।

बुध्द एयरसँग १५ वटा जहाजमध्ये १० एटीआर ७२, ३ वटा एटीआर ४२ र २ वटा बिचक्राफ्ट जहाज छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।