ज्योति विकास बैंकको डेढ अर्बको ऋणपत्रमा आवेदन खुल्यो, कति पाइन्छ ब्याज ?

0
Shares

ज्योति विकास बैंक लिमिटेड (JBBL)  ले असार २० गतेदेखि १ अर्ब ५० लाख रुपैयाँ बराबरको ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेकोछ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ६ लाख कित्ता (सामूहिक लगानीकोषका लागि सुरक्षित ३० हजार कित्ता) सर्वसाधारणमा बिक्रीमा आउनेछ भने बाँकी ९ लाख कित्ता व्यक्तिगत तवरबाट बैंकले विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।

बैंकले बिक्रीमा ल्याएको ‘ज्योति विकास बैंक बण्ड २०८७’ १० वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले छिटोमा असार २३ गतेसम्म र ढिलोमा साउन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिन्छ । उक्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

‘ज्योति विकास बैंक बण्ड २०८७’ मा लगानी गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् । बैंकले प्रदान गर्ने यो ब्याजदर हाल वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा पाइने ब्याजभन्दा धेरै हो ।

बैंकले जारी गर्न लागेको उक्त ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर रेटिङ बीबी प्लस’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी मध्यम कर्जा जोखिम र वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको मानिन्छन् ।

उक्त ऋणपत्रको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले रहेको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।