मेलम्चीको पानी छिटोमा माघसम्म काठमाडौमा आउने, क्षतिको अध्ययन शुरु


राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पु¥याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ । असार पहिलो साताको बाढीले के कति क्षति पु¥यायो भन्ने अनुमान गर्न अहिले नै कठिन भए पनि प्राविधिक आयोजनामा पुगेर र ड्रोन क्यामरामार्फत अध्ययन गरी क्षतिको अनुमान गर्न थालिएको हो ।

धेरै संरचना नदीजन्य पदार्थले पुरिएको भए पनि कतिपय पदार्थ पुनः नदीले बगाएकाले क्षति बाहिर देखिन थालेको अध्ययनका क्रममा पाइएको छ । प्राविधिक टोलीले घटनास्थल पुगेर र मेलम्ची खानेपानी विकास समितिले ड्रोनमार्फत गरेको सर्वेक्षणमा केही संरचनामा क्षति पुगेको देखिएको छ । बाढीले ल्याएको ठूलो ढुङ्गा मुख्य बाँधको ‘इनटेक’को भागमा ठोकिएको हुनाले पनि क्षती धेरै भएको अनुमान गर्न सकिन्छ ।

‘हेडवर्क’ को संरचना निरीक्षण गर्दा बाढी आउनासाथ मेलम्ची नदीले १० देखि २० मिटर नदीजन्य पदार्थ थुपारेर संरचना पुरेको पाइएको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार अहिले नदीले नै लेदो बगाएकाले त्यहाँका संरचना केही देखिएको छ । उनले भने, “निर्माणस्थलमा नदीले थुपारेको सबै नदीजन्य लेदोहरु उपकरण लगेर हटाएपछि सबै क्षति यकीन हुन्छ र हामीले थप काम गर्न सजिलो हुनेछ ।”

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको झण्डै एक महिनापछि इञ्जिनीयरद्वय शेखर खनाल र निरज गुप्ता, परामर्शदाता कम्पनी र निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणस्थल पुगेका थिए । केही सातादेखि ‘हेडवर्क’ पुग्न प्रयास गरिएकामा यस पटक सम्भव भएको हो ।

अहिलेसम्म हेर्दा सो आयाजनामा झण्डै एक अर्ब ८० करोड रुपैयाँको क्षति भएको छ । अब त्यहाँ कति समयपछि काम गर्न सकिन्छ र कसलाई काम गराउने भन्ने निर्णय गर्न बाँकी रहेको प्रवक्ता पन्तले बताए । पहिले निर्माणस्थलमा पुग्न सडक नै बन्नुपर्छ । त्यसपछि मात्रै पुरिएका संरचना सफा गर्न सकिने समितिले जनाएको छ । अहिले धेरै नदीजन्य पदार्थ थुपारिएकामा त्यो सफा गर्ने काम कति समयमा सकिन्छ भनी छलफल भइरहेको छ । उनले भने, “अहिले त्यसको लेखाजोखा भइरहेकाले अन्तिम प्रतिवेदन एकदुई दिनमा आउनेछ ।”

वर्षा सकिएपछि तत्काल अस्थायी वा स्थायी सडक र पुल सकेसम्म चाँडो निर्माण गरेर निर्माणस्थल पुगेमा आयोजनाको पुनःनिर्माण शुरु गर्न सकिनेछ । अस्थायी संरचना बनाउँदा आयोजना आवश्यक उपकरण लैजान सकिने पन्तको भनाइ छ । सडक विभागले विशेष महत्वका साथ स्थायी संरचना नै बनाउन चाहेमा आयोजना र स्थानीयवासी दुवैलाई सजिलो हुनेछ ।

अझै पनि कहिलेसम्ममा उपकरण लिएर निर्माणस्थल पुग्ने भनी टुङ्गो नभएको प्रवक्ता पन्तले बताए । उनका अनुसार बाढी पहिरोका कारण अहिले भर्खर खोलामा गएर काम शुरु गर्ने अवस्था छैन । कम्तीमा असोजमा काम शुरु गर्न सकिने उनी बताउछन । हेडवर्कमा क्षति कम भएमा र सुरुङ सफा गरे पुग्ने अवस्थामा काठमाडौँमा पुनः पानी ल्याउन लामो समय नलाग्ने अनुमान गरिएको छ । ‘हेडवर्क’ भन्दा माथिल्लो भागमा रहेको ‘कफर ड्याम’ लाई अस्थायीरूपमा निर्माण गरेर पानी सञ्चालन गर्न सकिने अनुमान गरिएको प्रवक्ता पन्तले बताए ।

नदीमा बाढी कम भएर पानी सफा भएपछि वैकल्पिक माध्यमबाट पानी पुनःकाठमाडौँ ल्याउन सकिन्छ । पानी पुनःसुन्दरीजल ल्याउन ‘हेडवर्क डाइभर्सन’ सुरुङ सफा हुनुपर्छ । ‘कफर ड्याम’ को विकल्प भए पनि त्यहाँसम्म पुग्न कठिन दखिएको छ । उनले भने, “हेडवर्कको संरचनाको दायाँबाट जान सकिँदैन त्यहाँ संरचना बनेका छन्, बायाँतर्फ पहिरो छिचोल्दै डोजर लगेर कफर ड्याम बनाउन सकिन्छ ।”

अहिले पनि ‘हेडवर्क’ को संरचना पुरिएको अवस्थामा रहेकाले ठ्याक्कै यति क्षति भयो भन्न सकिने अवस्था नभएको समितिका प्रमुख रामकुमार श्रेष्ठले बताऐ । अहिले हेर्दा डाइभर्सन टनेल र अम्बाथानको अडिट पोर्टलको टनेलमा लेदो जमेको उनले बताए । अम्बाथानमा निर्माण कम्पनीको र मेलम्ची पुलबजारस्थित समितिको क्याम्पमा क्षति पुगेको छ । त्यसको निर्माण र पुनःस्थापना पहिले गर्नुपर्ने उनले बताए ।”राज्यका सबै संयन्त्र परिचालन भएमा कम्तीमा माघभित्र पानी सुरुङभित्र पठाउन सकिन्छ भनेर कार्यतालिका बनाइएको प्रमुख श्रेष्ठले बताए । आयोजनामा अल्पकालीन र दीर्घकालीन गरी दुवै किसिमका काम गर्न आवश्यक देखिएको छ । पहुँचमार्ग निर्माण र क्षति भएका संरचनाको निर्माणको काम सबैभन्दा पहिले गर्न आवश्यक छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।