नयाँ सरकार गठनपछि बजेट र मौद्रिक नीतिको अन्योलतामा अल्झियो शेयरबजार

0
Shares

सरकार परिवर्तन भएसँगै बजेट र मौद्रिक नीतिको अन्योलता बढ्दा शेयर लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा पुगेका छन् । जसले गर्दा नेप्सेमा सूचक तथा कारोबारमा झिनो सुधार देखिएको छ ।

सर्वोच्च अदालतको परमादेश बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेटको वैधतामा प्रश्न उठेपछि यसको प्रभाव शेयरबजारमा पनि देखिएको छ ।

नयाँ सरकारले नयाँ बजेट ल्याउने चर्चा चलिरहदा शेयर लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा रहेका छन् । कतिपयले सत्ता परिवर्तनको माहोलमा बजारमा चलखेल प्रयास गर्न खोजेपनि लगानीकर्ता संयमित हुँदा बजारमा स्थिरता देखिएको छ ।

नयाँ सरकार गठन भएपछि नयाँ बजेट मात्र होइन तयारी अवस्थामा रहेको मौद्रिक नीति सार्वजनिक गर्न समेत केहि ढिलाई हुनसक्ने हुँदा शेयर लगानीकर्ताको पर्खाई लम्बिने भएको छ । यसले गर्दा पनि शेयर बजारमा उच्च उतारचढाब हुन पाएन् । बुधबार बजार खुलेको सुरुवाती समयमा नेप्से सूचकको उतारचढाब तिब्र गतिमा रहेपनि क्रमश सामान्य हुँदै गयो ।

साताको चौंथो कारोबार दिन बुधबार नेप्सेमा सामान्य वृद्धि हुँदा जलविद्युत र फाइनान्स कम्पनीमा आकर्षण देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा ११ करोडले कारोबार बढेको आजको बजारमा गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

नेप्सेका अनुसार बजार सूचक १.०१ अंकले बढेर २८७२.०५ अंकमा बन्द भएको छ । कारोबारमा आएका १३ मध्ये पाँच समुहको सूचक सकारात्मक रहेका छन् भने ८ वटा ऋणात्मक बने । जलविद्युत सूचक सर्वाधिक २.७१ प््रतिशतले बढेको बजारमा फाइनान्स १.४८ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट, म्चुचुअल फण्ड तथा होटल र पर्यटनमूल सूचकमा सामान्य बढोत्तरी भएको छ । यसदिन घटेका आठवटै सूचक १ प्रतिशतभन्दा कम घटेका छन् ।

बुधबारको बजारमा गोर्खाज फाइनान्सको सबैभन्दा धेरै २९ करोड ४७ लाख रुपैयाँको शेयर कारोबारमा आएको छ । छिमेक लघुवित्त २२ करोड, हिमालयन डिष्टिलरी १९ करोड, निर्धन उत्थान १६ करोड, नबिल ब्यालेन्स्ड फण्ड १५ करोड, नेपाल लाइफ १४ करोड, नबिल बैंक १३ करोड, नेपाल बंगलादेश बैंक १३ करोड, मञ्जुश्री र एनआईसी एशिया बैंकको पनि १२ करोड बढीको शेयर खरीद बिक्री भएको छ ।

आजको बजारमा हिमालयन पावर पार्टनरको शेयरमा लगानी गरेकाले सबैभन्दा धेरै ८.१० प्रतिशतले नाफा आर्जन गर्दा नेपाल फाइनान्स र कालिका पावर कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले बढेको छ ।

एभरेष्ट इन्सयोरेन्स संस्थापक, रसुवागढी हाइड्रोपावर, साञ्जेन हाइड्रोपावर, ङादी ग्रुप पावर, मल्टिपपर्स फाइनान्स, सिनर्जी पावर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनीको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसदिन नबिल ब्यालेन्स्ड फण्ड २, एनएमबि ५०, सिद्धार्थ ग्रोथ स्कीम २, प्रभु बैंक डिबेञ्चर ८४, सूर्योदय लघुवित्त, एग्रिकल्चर बैंक डिबेञ्चर ८३ को मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।