मध्य भोटेकोशीको आईपीओमा सिन्धुपाल्चोकका २८१ जनाले गरे आवेदन


कोरोना महामारीका कारण निषेधाज्ञा सुरु भए पछि स्थगित भएर फेरि निष्काशन सुरु भएको मध्य भोटेकोशीको शेयरमा सिन्धुपाल्चोकबासीले आवेदन दिन थालेका छन् ।

निष्काशन सुरु भएको पहिलो दिन मंगलबार आयोजना प्रभावित र स्थानीयका तर्फबाट २८१ वटा आवेदन परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटलका अनुसार मंगलबार तोकिएका आवेदन केन्द्र तथा इसेवाबाट उक्त संख्यामा आवेदन परेको जनाएको छ ।

उल्लेखित आवेदकहरुबाट ७० हजार २६० कित्ता शेयर माग भएको पनि क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार अब आईपीओ छिटोमा साउन १७ गते निष्काशन बन्द हुनेछ भने सो अवधिमा सबै शेयर बिक्री नभएको खण्डमा भने ढिलोमा साउन ३२ गतेसम्म खुला रहनेछ । उक्त मितिभन्दा अगावै सबै शेयर बिक्री भएमा बीचमा नै सार्वजनिक सूचना मार्फत निष्काशन बन्द हुन सक्नेछ ।

आईपीओमा सिन्धुपाल्चोक जिल्लाबासीले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोकमा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त शेयरमा न्यूनतम ५० कित्तादेखि बढीमा ४०० कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता निष्काशन तथा बिक्री खुला गरेको थियो । कोराना संक्रमण बढेपछि विभिन्न जिल्लामा जस्तै सिन्धुपाल्चोकमा पनि निषेधाज्ञा जारी भए पछि स्थानीयलाई बिक्री भैरहेको शेयर बीचमा नै स्थगित गरिएको थियो ।

कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित मूल्यको दरमा ६० लाख कित्ता शेयर आयोजना प्रभावितका लागि निष्काशन सुरु गरेको हो । सिन्धुपालचोकका आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि ६० लाख कित्ताको ३० प्रतिशतले हुने १८ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

कुल निष्काशनको बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुका लागि निष्काशन गरिएको हो ।
कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

स्थानीय र आयोजना प्रभावितलाई शेयर निष्काशन गरि सके पछि सर्वसाधारणका लागि ९० लाख कित्ता शेयर निष्काशन हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ साउन २०७८, मंगलबार  १९ : ३३ बजे