चोरिएको मोटरसाइकल सहित तीन पक्राउ


महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले चोरिएका मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छ ।

उपत्यकाको विभिन्न स्थानबाट हुने मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरी कारवाही थालेको जनाइएको छ ।

चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्ने महाशाखाले निगरानीका साथै सूचना सङ्कलन तथा सादा पोशाकमा समेत टोली परिचालन गरी विशेष अभियान सञ्चालन गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

सोही क्रममा गएराति मोटरसाइकल सहित भक्तपुरबाट रामेछापका दीपेन्द्र भुजेल, ताप्लेजुङका विशेष लिम्बू र धनुषाका विकल थापालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

भक्तपुरका वासुदेव खड्काको आफ्नै घर अगाडीबाट २०७६ मा हराएको मोटरसाइकल उनीहरुले नम्बर परिवर्तन गरी चलाएको अवस्थामा फेला पारिएको थियो ।

अर्को पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा ९६ प ८८३६ को मोटरसाइकल पनि नम्बर परिवर्तन गरेको अवस्थामा भेटिएको थियो । मोटरसाकलसहित तीनैलाई थप अनुसन्धान एवं कानूनी कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमीमा बुझाइएको महाशाखाले जनाएको छ ।

गत आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न ५१ व्यक्तिलाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी एकाइमा पठाइएको छ । सोही वर्ष हराएका ३९७ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ साउन २०७८, आइतबार १७ : २५ बजे