एन आई सी एशिया क्यापिटलले पारित गर्यो ४८ प्रतिशत नगद लाभांश


एन आई सी एशिया क्यापिटलले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गरेको छ । क्यापिटलको भदौ १३ गते आइतबार सम्पन्न ५ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ करोड ६० लाख रुपैंया नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साधारण सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले स्थापनाको ५ बर्षको छोटो अवधि मा नै हाल सञ्चालनमा रहेका ३० मर्चेन्ट बैंकर्स मध्ये निक्षेप सदस्य तर्फ पहिलो, म्युचुअल फण्ड र लगानी व्यवस्थापनमा दोस्रो स्थानमा रहेको जानकारी दिए । क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत आ.व. २०७७/७८ को अन्त्य सम्ममा १० वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको एवं निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हाल सम्म ७ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र १५ वटा कम्पनीको बोलकबोल मार्फत शेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको पनि ढकालले जानकारी दिए ।

क्यापिटलले डिम्याट खाता र मेरो शेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद तथा लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ । साथै आगामी दिनमा लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, खुलामुखी योजनाको इकाईको खरिद बिक्री लगायतका क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाईज रुपमा उपत्यका बाहिरबाट समेत अनलाईन मार्फत उपलब्ध गराउँदै जाने योजना क्यापिटलले बनाएको छ ।

काठमाण्डौ उपत्यका भित्र किर्तिपुर, चाबहिल र अनामनगरमा शाखा कार्यालय खोली सेवा विस्तार गरेको क्यापिटलले निकट भविष्यमा उपत्यका बाहिरबाट समेत शाखा कार्यालय खोल्ने जनाएको छ ।

क्यापिटलले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तरगतको बन्दमुखी सामूहिक लगानीकोष योजनाहरु एन आई सी एशिया ग्रोथ फण्ड, एन आई सी एशिया ब्यालेन्सड् फण्ड तथा एन आई सी एशिया सेलेक्ट–३० इन्डेक्स फण्ड र पहिलो खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड संचालन गरिरहेको क्यापिटलले पाँचौ बन्दमुखी योजना एन आई सी एशिया फेलेक्सी क्याप फण्ड संचालनको अन्तिम तयारी गरिरहेको छ ।