भरतपुर अस्पतालमा सात जना मेसु फेरिए, मेसु अस्थिर हुुँदा अस्पतालको गुणस्तर र सुविधा खस्किँदै

भरतपुर अस्पतालमा सात जना मेसु फेरिए, मेसु अस्थिर हुुँदा अस्पतालको गुणस्तर र सुविधा खस्किँदै

भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् ।

एक वर्षको अवधिमा प्रा.डा. कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाएका हुन् ।

हाल अस्पतालमा कार्यरत डा. रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए । अधिकारी अध्यक्ष भएयताको सातौँ मेसु पौडेल भएका हुन्।

विसं २०७७ भदौ २८ गते डा श्रीराम तिवारी सरुवालाई सरुवा गरेर डा. राजन पाण्डेलाई मेसु बनाइएको थियो । पाण्डे दुुई महिनापछि मङ्सिर ८ गते सरुवा भएसँगै डा. जगन्नाथ तिवारी मेसु भएका थिए । त्यसको तीन महिनापछि डा. वासुदेव पाण्डेलाई मेसु बनाइएको थियो । गत वैशाख ४ गते पाण्डे निवृत्त भएपछि पुनः डा जगन्नाथ तिवारीलाई मेसु बनाइएको थियो ।

झण्डै दुुई महिनापछि जेठ १३ गते डा. रोशन न्यौपानेलाई मेसु बनाइएकोमा तीन महिनामा उनलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको हो । सरकारले आइतबार प्रा. डा. पौडेललाई भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेको हो ।
मेसु अस्थिर हुुँदा अस्पतालको गुणस्तर र सुविधा खस्किँदै गएको छ ।

अध्यक्ष अधिकारीले विकास समितिले गरेका निर्णय मेसु अस्थिर हुँदा कार्यान्वयन हुन नसकेको बताए । यसपटक मेसु भइसकेका स्थानीय व्यक्तिले जिम्मेवारी पाएकाले लामो समय काम गर्ने अवसर प्राप्त हुने र विकास समितिले गरेका निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको अधिकारीको भनाइ छ ।

यो सङ्घीय अस्पताल हो । ६०० शैय्याको यस अस्पतालमा चितवन सहित १९ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । पटकपटक कार्यकारी प्रमुख परिवर्तन हुँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । हरेक विभागमा बिरामीले पाउनुपर्ने सेवा पाउन सकेका छैनन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ भदौ २०७८, मंगलबार ११ : २५ बजे