मोडल तथा कलाकार निशा घिमिरेको निधन

मोडल तथा कलाकार निशा घिमिरेको निधन

मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । मोडल घिमिरेको उपचारका क्रममा आज साँझ मृत्यु भएको हो । घिमिरेको आज साँझ ६ः५१ बजे मृत्यु भएको हो ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनको शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।

गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो । नर्भिक अस्पतालले जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । सो क्रममा उनको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि पनि उनको अवस्था स्थिर नै रहेको थियो ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भने ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं । हामी दिवंगत आत्माको चिरशान्तिको कामना गर्र्दछौं भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।’

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १६ भदौ २०७८, बुधबार २० : ४९ बजे