साहस उर्जाको आइपीओमा १७ लाख बढीले गरे आवेदन


साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणमा निष्काशन गरेको शेयरमा १७ लाखभन्दा बढीले आवेदन गरेका छन् । शुक्रबार दिउँसो २ः३० बजेसम्ममा १७ लाख २० हजार ४५४ वटा आवेदन परेको केन्द्रिय निक्षेप प्रणाली –सिडिएससी) ले जनाएको छ ।

प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ७० करोड रुपैंया बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको कम्पनीले पाँच प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई र ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरेको छ । बाँकी ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशन भईरहेको छ ।

सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी तीन अर्ब पचास करोडको प्रतिशेयर एक सय अङ्कित दरले हुने तीन करोड पचास लाख कित्ता शेयरमध्ये ३० प्रतिशत अर्थात् एक करोड पाँच लाख कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो । सोअनुसार प्रतिशेयर एक सय अङ्कित मूल्यको ३५ लाख कित्ता साधारण शेयर गत साउन २९ देखि भदौ २७ सम्म आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि निष्काशन गरिएको थियो जसको बाँडफाँटसमेत भइसकेको छ ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आई आर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४५ करोड रुपैयाँ छ । स्थानियलाई ३५ करोड रुपैयाँ र सर्वसाधारणलाई ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले हाल सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख पर्ने विवरण सार्वजनिक गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।