न्यादी हाइड्रोको २१ लाख कित्ता शेयरका लागि १९ लाखले गरे आवेदन


न्यादी हाइड्रोपावर लिमिटेडको निष्काशन भएको साधारण शेयर संख्याको हाराहारीमा आवेदन पेको छ । निष्काशन बन्द हुन एक दिन बाँकी रहँदा झण्डै १९ लाख जनाले आवेदन गरेसँगै निष्काशित शेयर संख्या बराबरको आवेदन पर्ने देखिएको हो ।

केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार सोमबार साँझसम्ममा कम्पनीको शेयर १८ लाख ९३ हजार ९५७ वटा आवेदनबाट माग भएको छ । उल्लेखित आवेदनबाट २ करोड ४० लाख ८९ हजार ९४० कित्ता शेयर माग भएको सिडिएससीले जनाएको छ । कम्पनीले भने सामुहिक लगानी कोषलाई ५ प्रतिशत र कम्पनीका कर्मचारीलाई २ प्रतिशत सुरक्षित गरेर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार असोज १७ गते आइतबार साँझ ५ बजेसम्ममा १३ लाख ७९ हजार ६६५ वटा आवेदन परेको थियो ।
कम्पनीले निष्काशन गरेको उक्त आईपीओ असोज १९ गते मंगलबार कार्यालय समयपश्चात बन्द हुनेछ ।

न्यादी हाईड्रोपावरको आईपीओमा प्रतिकित्ता न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपिओमा मेरो शेयर मोबाइल एप, मेरो शेयरवेवसाइट र सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट सजिलै आवेदन दिन सकिनेछ ।

कम्पनीले हाल लमजुङको मस्र्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको कूल अनुमानित लागत ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच हुने कम्पनीले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्काशन गर्दा रेटिङ गर्नुपर्ने प्रावधान अनुसार केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी बिबी इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको भन्ने बुझिन्छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

कम्पनीले आफ्नो जारी पूँजी एक अर्ब ५० करोडको प्रतिशेयर रु १०० अङ्कित दरले हुने एक करोड ५० लाख कित्ता शेयरमध्ये १५ प्रतिशत अर्थात २२ लाख ५० हजार कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो । आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दाका लागि छुट्याइएको १०० अङ्कित मूल्यका १५ लाख कित्ता शेयर र संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि छुट्याइएको तीन लाख कित्ता शेयर गरी १८ लाख कित्ता शेयर गत भदौ १ देखि निष्काशन खुला गरी बाँडफाँड भइसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।