राष्ट्र बैंकले रिपो मार्फत २० अर्ब तरलता बैंकिङ प्रणालीमा पठाउँदै


नेपाल राष्ट्र बैंकले असोज २० गते बुधबार (आज) २० अर्ब बराबरको रिपो जारी गरेको छ । वित्तीय प्रणालीमा तरलता अभाव बढ्दै गएपछि केन्द्रीय बैंकले १४ दिन अवधिको रिपो निष्कासन गरेको हो ।

सो रिपो खरिदका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत बुधबार ३ बजे भित्र बोलकबोलमा सहभागी हुनुपर्छ । केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलता समस्या देखिए अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आगामी कात्तिक ३ गते परिपक्व हुने रिपो बोलकबोल मार्फत् खरिद गर्न सक्नेछन् ।

यसअघि केन्द्रीय बैंकले असोज १३ गते सात दिन अवधिको ३० अर्ब, असोज ७ गते सात दिनको ३० अर्ब, गत भदौ ३१ गते २० अर्ब, २४ गते १४ दिनको ३० अर्ब र भदौ १७ गते २० अर्ब रिपोमार्फत बैंकिङ प्रणालीमा रकम पठाइ सकेको छ । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन् ।

सरकारी खर्च पर्याप्त नहुँनु, निक्षेप र रेमिट्यान्समा कमी, आयातमा वृद्धि जस्ता कारणले बैकिङ क्षेत्रले तरलता अभावको समस्या खेपिरहेका छन् । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले नियमित रुपमा एसएलएफ सुविधा लिने गरेका छन् ।

राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आवमा असोज १९ गते बुधबारसम्ममा ६ खर्ब २७ अर्ब ३९ करोड रुपैयाँ बराबरको एसएलएफ उपभोग गरिरहेका छन् । बैंकहरु एकातिर कर्जा विस्तार गरिरहने र अर्कोतर्फ उनीहरुले नेपाल राष्ट्र बैंकबाट ५ प्रतिशत व्याजमा एसएलएफ सुविधाको पनि उपभोग गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।