सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

notebazar_admin
0
Shares
सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलान्चोक । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवासम्बन्धी जनगुनासा शीघ्र सम्बोधन गरी सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन् ।

दूरसञ्चार कार्यालय बनेपाको आज निरीक्षणका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले सेवाग्राहीका समस्या समाधानलाई प्राथमिकतामा राखेर नतिजामुखी ढङ्गले काम गर्न कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका हुन् ।

उनले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी उपभोक्ताका गुनासालाई तत्काल सम्बोधन गर्न र समाधान नभएका विषयमा निरन्तर पहल तथा ‘फलोअप’ गर्न निर्देशन दिए। नागरिकका गुनासा सरकारको प्राथमिकताको विषय भएकाले समाधानका लागि निश्चित समयसीमा तोकेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

“संस्था बलियो भए मात्र त्यसबाट नागरिकले लाभ लिन सक्छन् । नेपाल टेलिकमको सेवा गुणस्तरका विषयमा उपभोक्ताले गुनासो गर्ने अवस्थाको अन्त्य हुनुपर्छ,” उनले भने, “सेवा सुधारका नाममा नागरिकलाई थप आर्थिक तथा प्रशासनिक दायित्व थोपर्नु हुँदैन ।”

सञ्चारमन्त्री डा तिमिल्सिनाले देशभर नेटवर्क विस्तार भइरहे पनि विभिन्न स्थानमा सेवा अवरुद्ध हुने, फोन नलाग्ने र इन्टरनेट नचल्ने समस्या कायमै रहेको उल्लेख गर्दै सेवा प्रवाहलाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिए ।

ग्राहक सङ्ख्या र सेवाको माग बढ्दै गएको अवस्थामा टावरको क्षमता विस्तार गर्न तथा नेटवर्क सुधारका लागि आवश्यक स्रोतसाधनको अभाव हुन नदिन टेलिकमलाई निर्देशन दिइसकेको उनले जानकारी दिए। सेवा सुधारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग रहने उनको भनाइ थियो ।

नेपाल टेलिकमले हाल देशभर करिब पाँच हजार टावरमार्फत सेवा प्रदान गर्दै आएको छ । सेवा गुणस्तर सुधार र पहुँच विस्तारका लागि चालु आर्थिक वर्षमा थप एक हजार ६०० टावर स्थापना गर्ने गरी खरिद प्रक्रिया अघि बढाइएको छ ।

निरीक्षणका क्रममा दूरसञ्चार कार्यालय बनेपाका प्रमुख दिलीप ज्ञवालीले काभ्रेपलाञ्चोकमा करिब ३०० ग्राहकलाई राउटर उपलब्ध गराउन नसकिएको जानकारी दिए । फाइबर इन्टरनेटका ग्राहक बढ्दै गए पनि नयाँ राउटरको अभावमा नयाँ ग्राहकलाई उपकरण उपलब्ध गराउन समस्या भएको उनले बताए ।

“नयाँ राउटर उपलब्ध छैनन् । पुराना राउटर मर्मतसम्भार गरेर सञ्चालन गरिरहेका छौँ । नेपाल टेलिकमको फाइबर इन्टरनेट लिने ग्राहकको सङ्ख्या बढिरहेको छ, तर नयाँ ग्राहकलाई राउटर उपलब्ध गराउन सक्ने अवस्था छैन,” उनले भने।

कार्यालय प्रमुख ज्ञवालीले जिल्लाका विभिन्न स्थानमा सडक विस्तार तथा नेपाल विद्युत् प्राधिकरणका पोल सार्ने क्रममा नेपाल टेलिकमको ‘फाइबर टू द होम (एफटिटिएच)’ सेवाका केबलमा क्षति पुग्दा नेटवर्क सञ्चालनमा समस्या हुने गरेको जानकारी दिए। यस्ता संरचनागत कामका क्रममा टेलिकमको सञ्जालमा क्षति पुग्ने गरेको र सेवा नियमित बनाउन थप स्रोतसाधन आवश्यक रहेको उनले बताए।

सञ्चारमन्त्री डा तिमिल्सिनाले स्थानीयस्तरमा देखिएका यस्ता प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधानका लागि पहल गर्न र उपभोक्ताले गुणस्तरीय दूरसञ्चार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिए ।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहीबार ०७ : ४३ बजे