दशैं: काभ्रेका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

0
Shares

बडादशैं शुभारम्भ दिन आज काभे्रपालञ्चोकका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ । विशेषगरी पाँचखालको पलाञ्चोक भवगती मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिरमा दर्शनार्थी घुइँचो लागेको हो ।


धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएका ती शक्तिपीठमा घटस्थापनादेखि दशैँको नवमीको दिनसम्ममा विशेष पूजाआज हुने गर्दछ । “चण्डाशुर दैत्यलाई माता चण्डेश्वरीले बध गरेको स्थान भएकाले चण्डी पूर्णिमा र दशैँमा ठूलो मेला लाग्ने गर्दछ ।” चण्डेश्वरी महादेव मन्दिरका पुजारी श्यामप्रसाद सेवाचार्यले भन्नुभयो, “दशैँको अवसरमा नेपालका विभिन्न स्थानबाट चण्डेश्वरी मन्दिरमा दर्शन गर्नका लागि भक्तजन आउने गर्दछन् ।” नवरात्रभरि नै मन्दिरमा दर्शनार्थीको भीड हुने गर्दछ । सो समय बिहान २ बजेदेखि नै भक्तजन मन्दिरमा दर्शनका लागि दैनिक हजारौँको सङ्ख्यामा आउने गरेको उहाँले बताउनुभयो ।

मन्दिरमा आउने भक्तजनलाई सहजताका लागि वडाको तर्फबाट मन्दिर परिसरमा रहेको बगैँचा र वनभोजस्थल व्यवस्थापनका लागि गत वर्षदेखि काम सुरु भइरहेको छ । मन्दिर नजिक अवस्थित चण्डेश्वरी वनमा पर्यापर्यटनका लागि नगरपालिकाले गोसाइँस्थानको महादेव मन्दिरसम्म जानका लागि एक हजार ६०० सिँढी निर्माण गरिरहेको बनेपा–५ का वडाध्यक्ष बलराम अधिकारीले जानकारी दिए । यो मन्दिर १७ औँ शताब्दीमा बनेको विश्वास गरिन्छ । मन्दिरमा चण्डेश्वरीले दानव चण्डको बध गरेको भित्तेचित्र प्रदर्शन गरिएको छ ।

यस्तै पलाञ्चोक भगवतीको मन्दिर जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित छ । काभ्रेको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको यो मन्दिर लिच्छवीकालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएको विश्वास गरिन्छ । शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतीको मूर्ति अद्वितीय मानिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।