पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुँदैन : आयल निगम


नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताएका छन् । उनले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता लिन नसकिने बताएका हुन् ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिनु निगमको बाध्यता भएको भन्दै उनले निर्णय फिर्ता लिन नसकिने बताएका हुन् । उनले भने, “समायोजना भन्नुहोस वा अरु केही भन्नुहोस, तर यो मूल्यवृद्धि भएकै हो । समायोजन त निगमको बाध्यता हो । अहिलेको अवस्थामा यो फिर्ता हुँदैन् ।”

उनले पछिल्लो चार/पाँच वर्षको मूल्य हेर्दा पेट्रोलियम पदार्थको मात्रै मूल्यवृद्धि बढेको हो र ? भन्दै प्रश्न उठाएका छन् । आम उपभोक्तासँग जोडिएका अन्य वस्तुमा पनि मूल्यवृद्धि भएको उनको भनाई थियो । उनले भने, “अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सवालमा यो मूल्यवृद्धि हो कि समायोजन ? भनेर साथीहरुले भन्नुभयो । यो दुवै हो । मूल्य बढ्दा पनि समायोजना नै भन्छौं, अनि घट्दापनि समायोजन नै भन्छौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा हामीले पनि यता समायोजन गर्ने हो । यो पूर्ण रुपले अन्य मूलुकमा निर्भर हुने विषय हो । अन्तर्राष्ट्रिय बजारमा हामीले हस्तक्षेप गर्न पनि नसक्ने अवस्था छ । आयल निगमले जुन मूल्य सूचि प्राप्त गर्छ, हरेक चोटी हामीले मूल्य प्राप्त गर्दा निगमको सबै कुरा छर्लङ्ग पार्छौं ।” उनले मूल्यवृद्धि नगर्दा निगमलाई अरबौं घाटा हुने भएकोले बाध्य भएर मूल्यवृद्धि गरिएको स्पष्ट पारे ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अहिले जनता मारमा परेको गुनासो पोखेका छन् । पटक पटकको मूल्यवृद्धिका कारण जनताको चुल्हो निभ्ने खतरा देखिएको उनको गुनासो छ । उनले भने, “१२ दिनअघि मूल्यवृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकोले बढाएको भनियो, यो १२ दिनको बीचमा अन्तर्राष्ट्रिय बजारमा मूल्य ४ डलर घटेको छ, अनि आयल निगमले मूल्य वृद्धि भयो भनेर कसरी भन्न सकेको होला । १२ दिनमै खपिनसक्नु भयो, धेरै घाटा भयो भनेर मूल्यवृद्धि बढाईयो । यो गलत हो ।”

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए देशभरिका सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिएका छन् । उनले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन आग्रह गरेका छन् ।

“आयल निगमले वैज्ञानिक प्रणालीको नाममा मूल्यवृद्धि गरेको भनेको छ, तर, आम उपभोक्ता मारमा छन् । पेट्रोलियम पदार्थको ५० प्रतिशत खपत गर्ने यातायात व्यवसायीहरु झनै मारमा छौं । मूल्यवृद्धि अविलम्ब फिर्ता नभए हामी कठोर निर्णय लिन बाध्य हुन्छौं,” सिटौलाले भने ।

सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नभएसम्म आफूहरको आन्दोलन जारी रहने बताएका छन् । उनले पेट्रोलियम पदार्थमा लगाईएको कर कटौती गर्नुपर्ने पनि धारणा राखे । उनले भने,‘आयल निगमले आवश्यक पहल गर्नुपर्छ । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहन्छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव समिक बडालले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको लागि आफ्नो संगठन सडक संघर्षमा आईसकेको बताउँदै मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने र आफुहरुले आवाज उठाईरहने बताए ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठन स्थापना कालदेखि नै न्याय र सत्ताको पक्षमा उभिँदै आएको भन्दै निगमले गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताईन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आयल निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेललाई तत्काल बर्खास्त गर्न सरकारसमक्ष आग्रह गरेका छन् । अहिले आपूर्ति मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै हेरिरहेको उल्लेख गर्दै अहिले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरि गरिएको मूल्यवृति अविलम्ब फिर्ता लिनेगरि कदम चाल्न पनि उनले आग्रह गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।