भन्सारमा सुधार गरी व्यवसाय सहज बनाउन चेम्बर अफ कमर्सको माग, विभागलाई दियो यस्ता सुझाव


पछिल्ला दिनमा विभिन्न भन्सार कार्यालयमा मालसामान सरल र सहज तवरले जाँचपास हुन नसकेको गुनासो व्यवसायीबाट आएको भन्दै भन्सार कार्यालयहरुमा सुधारका लागि आग्रह गरेको छ ।

मालसामानका गाडीहरु क्युमा रहेको र भन्सार कार्यालयहरुमा पर्याप्त मात्रामा कर्मचारी समेत नरहेको भन्ने गुनासोहरु व्यापारीहरुबाट आईरहेको भन्दै चेम्बरले सुझाव सहित भन्सार कार्यालयको सेवा चुस्त बनाउन माग गरेको हो ।

भन्सार विभागले न्यून विजिकरणलाई हतोत्सायी गरी वास्तविक बिललाई प्रोत्साहन गर्न बेला बेलामा विभिन्न परिपत्र गर्नु सकरात्मक भए पनि वास्तविक बिलमा कारोबार गर्ने आयातकर्तालाई मार पर्न सक्नेतर्फ पनि ध्यान दिन आग्रह गरेको छ ।

विगत देखिनै वास्तविक कारोबार मुल्यलाई मान्यता दिनुपर्छ भन्ने मान्यता राख्ने जनाएको चेम्बरले भन्सारको मुख्य काम ब्यापार सहजिकरण गर्नेमा केन्द्रित हुनुपर्ने बताएको छ । साथै उसले राजश्व संकलनको मेरुदण्ड मूल्य अभिवृद्धि कर र आयकर हुनु पर्नेमा जोड दिएको छ ।

भन्सारले ब्यापारीका सामानको मुल्याँकन गर्न कारोबार मुल्यलाई मान्यता दिनु पर्ने जनाएको चेम्बरले न्यून विजिकरण भएको शंका लागेमा भन्सार विन्दुमा नै त्यस्ता सामान खरीद गर्ने अथवा सामान जाँचपास गरे पश्चात भन्सार जाँचपास परिक्षणकार्यालय, राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग लगायतले निगरानी गर्ने व्यवस्था मिलाउनु पर्नेमा जोड दिएको छ ।

भन्सार प्रयोजनको लागी कारोबार मुल्य निर्धारण गर्दा जीएटीटी भ्यालुएशनको मार्गनिर्देशन अनुसार पेश भएको कागजातलाई अनिवार्य रुपमा मान्यता दिन पनि चेम्बरले सुझाएको छ ।

अधिकतम बिक्री मूल्यमा नै पैठारी आएको हकमा अधिकतम बिक्री मूल्यको न्यूनतम प्रतिशत तोकिएको अवैज्ञानिक भएकोले त्यस्तो व्यवस्था खारेज गर्न चेम्बरले माग गरेको छ ।

भन्सार एजेन्टको संख्या आवश्यकता अनुसार बढाउनु जोड दिएको चेम्बरले सबै भन्सार कार्यालयहरुमा भुक्तानी गर्न अनलाइन पेमेण्टको व्यवस्था अबिलम्ब सुरु गर्न माग गरेको छ ।

भन्सार कार्यालय ड्राइ पोर्ट बीरगञ्जमा भौतिक पूर्वाधार लगायत आवश्यक दक्ष कर्मचारीको व्यवस्था गर्न पनि चेम्बरले विभागको ध्यानाकर्षण गराएको छ ।

चोरी पैठारी र गैरकानूनी कारोबार गर्नेलाई कडा कारवाही गरी भन्सार छली हुने वस्तुको पहिचान गरी ति वस्तुहरु भन्सार नाकाबाटै आयात गरिने गरी नीति निर्माण गरी सहजीकरण गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।

भन्सार दरबन्दी र मुल्याङ्कन कायम गर्दा नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गरी खुला सिमानाबाट चोरी पैठारी हुन सक्ने अवस्था समेतलाई विचार गरी छिमेकी मुलुक सरहको दरबन्दी तथा मुल्याङ्कन कायम गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।

भन्सार विभागको मुल्याङ्कन समितिको बैठक नियमित हुनुपर्ने र समितिमा निजी क्षेत्र नेपाल चेम्बर अफ कमर्सको प्रतितिधी समेत सदस्य रहने व्यवस्था गर्नुपर्ने माग पनि चेम्बरले गरेको छ ।

प्रत्येक भन्सार कार्यालयहरुमा ब्यापार सहजीकरणको बैठक समेत नियमित हुनुपर्ने र त्यस्तो बैठकमा समेत नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधी सहभागी गराउनु पर्नेमाग चेम्बरले गरेको छ ।

पैठारी भएको १ महिना भित्र पसीए गर्नुपर्ने भए गरिसक्नु पर्ने र एक पटकमा एउटा मात्र कन्साईमेन्ट अथवा पैठारी भएको वस्तुको पीसीए गर्न पनि चेम्बरले माग गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।