घरजग्गाको पनि त्रैमासिक रुपमा मूल्य सूचकाङ्क सार्वजनिक गरिने

0
Shares

नेपाल राष्ट्र बैंकले घरजग्गाको पनि त्रैमासिक रुपमा मूल्य सूचकाङ्क नियमित प्रकाशन गर्ने भएको छ । घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सर्वाजनिक गर्दै राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो।

घरजग्गाको मूल्यमा आउने उतार-चढाव मापन गर्ने उदेश्यले नेपालमा पहिलो पटक मूल्य सर्वेक्षण सम्पन्न गरी घरजम्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क निर्माण गरिएको हो । यसरी प्राप्त हुने घरजम्गा मूल्य सूचकाङ्क त्रैमासिक रुपमा नियमित प्रकाशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

घरजग्गाको मूल्यमा आउने अस्वभाविक उतार-चढावले मुलुककमा वित्तीय र समष्टिगत आर्थिक अस्थिरता सृजना हुने हुँदा समयमै जोखिम पहिचान गरी आवश्यक नीति निर्माण मार्फत यस्ता जोखिमहरूलाई नियन्त्रणमा राख्नको लागि घरजग्गा क्षेत्रको मुल्य संकलन गरी सूचक निर्माण गरेर घरजग्गा मद्रास्फीति मापनको कार्य शुरु गर्न लागिएको हो ।

मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न पनि घरजग्गा मूल्य सूचकाङ्क महत्वपूर्ण हुने राष्ट्र बैंकको भनाई छ ।

नेपाल राष्ट्र बैंकको रणनीतिक योजनामा घरजग्गा मूल्य सर्वेक्षण सञ्चालन गर्न २०७५ साउनदेखि २०७७ असारसम्ममा सम्पन्न गर्ने गरी कार्ययोजना तय गरिएको छ । वित्तीय क्षेत्र विकास रणनीति (२०७३/७४–२०७७/७८) मा समेत घरजग्गा मूल्य सूचकाङ्क तयार गर्ने सम्बन्धमा कार्यान्वयन निकायको रुपमा कार्य सम्पन्न गर्न नेपाल राष्ट्र बैंकलाई जिम्मेवारी दिइएको थियो ।

नेपाल राष्ट्र बैंकले मुद्रास्फीति मापन गर्ने प्रयोजनका लागि उपभोक्ता मूल्य सूचांक निर्माण गरी नियमित रुपमा प्रकाशित गरिदै आएको छ । त्यसैगरी, थोक मूल्य सूचांक र तलब तथा ज्यालादर सूचकाङ्क पनि नियमित रुपमा प्रकाशित गर्दै आएको छ।

यसरी उपभोक्ता मूल्य, थोक मूल्य र तलव तथा ज्यालादर जस्ता तथ्यांकले अर्थतन्त्रको सबै प्रकारका मूल्यस्थितिहरूको प्रतिनिधित्व गर्न नसक्ने भन्दै विशेष गरी सम्पत्तिको मूल्यमा आएको उतार-चढावको जानकारी लागि घरजग्गा मूल्य सूचकाङ्क निर्माण गरिएको हो ।

राष्ट्र बैंकको सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरुबाट प्राप्त तथ्याकंको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको थियो भने मालपोत कार्यलयहरूबाट प्राप्त तथ्यांकका यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको थियो ।

त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को प्रथम नौ महिनामा यस्तो मुद्रास्फीति कमशः १८.२१ प्रतिशत र १२.४७ प्रतिशत रहेको छ ।अघिल्लोआर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ को पहिलो नौमहिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको निष्कर्ष सर्वेक्षणले देखाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।