तरलता प्रवाह गर्न राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल ‘सोझै खरिद’ गर्ने

तरलता प्रवाह गर्न राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल ‘सोझै खरिद’ गर्ने

नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह गर्न २० अर्बको ट्रेजरी बिल खरिद गर्ने भएको छ । बैंकले बिहीबार सूचना जारी गर्दै ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । बैंकले प्राप्त आवेदनका आधारमा शुक्रबार ट्रेजरी खरिद गर्नेछ।

बैंकका अनुसार बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘सोझै खरिद’ हो ।

यो उपकरणको केन्द्रीय बैंकले तोकिएको दिन भित्र भुक्तानी मिति भएका ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल माध्यमबाट खरिद गर्दछ र त्यस बापतको रकम ती बोलकर्तालाई भुक्तानी गर्ने भएकाले बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन्छ ।

राष्ट्र बैंकले प्रणालीमा तरलताको चाप पर्दा यस्ता उपकरणको निरन्तर प्रयोग गर्दै आएको छ । बैंक तथा वित्तीय सस्थाले स्थायी तरलता सुविधा, रिपोजस्ता उपकरणको प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन ।

बैंकको औषत कर्जा निक्षेप अनुपात मौद्रिक नीतिले ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरे पनि बढेर ९० दशमलव ८९ प्रतिशत पुगेको छ । यसले बजारमा लगानीयोग्य रकमको अभार रहेको पुष्टि हुन्छ ।

राष्ट्र बैंकले गत साता पनि २५ अर्बको ट्रेजरी बिल ‘सोझै खरिद’ गरेको थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ मंसिर २०७८, बिहीबार ११ : ५१ बजे