टेस्लाको सेयर मूल्य घटेपछि सीईओ एलोन मस्क विरुद्ध मुद्दा दर्ता

0
Shares

टेस्ला कम्पनीका सीईओ एलोन मस्क विरुद्ध डेलावेयर कोर्ट अफ चान्सरीमा मुद्दा दर्ता भएको छ। सामाजिक सञ्जाल ट्वीटरमा उनले गरेको ट्वीटका कारण टेस्लाको सेयर मूल्य घटेको भन्दै लगानीकर्ताहरुले उनी विरुद्ध मुद्दा दायर गरेका छन्।

मस्कले नोभेम्बर ६ मा ट्वीटर प्रयोगकर्ताहरू सहमत भएमा आफ्नो १०% सेयर बेच्ने भनी ट्वीट गरेका थिए। अधिकांश ट्वीटर प्रयोगकर्ताले सहमति जनाएपछि उनले अहिलेसम्म करिब १४ अर्ब डलरको सेयर बेचिसकेका छन्। उनको यस कदमले कुनै बेला सर्वोच्च उचाईमा पुगेको टेस्लाको सेयर मुल्य दिनानु एक चौथाइले घटिरहेको छ। जसको कारण लगानीकर्ताहरु घाटामा गइरहेका छन्।

टेस्लाका लगानीकर्ता डेभिड वाग्नरले टेस्ला र मस्कले अमेरिकी सेक्युरिटीज नियामकसँगको सम्झौता उल्लङ्घन गरे वा छैनन् भन्ने विषयमा अनुसन्धान गर्न आन्तरिक कागजातहरूको माग गरेका छन्। यसका साथै टेस्लाका बोर्ड सदस्यहरूले आफ्नो विश्वस्त कर्तव्य पालन गरे वा छैनन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।

संन् २०१८ मा, मस्कले कम्पनीलाई निजी बनाउने बारे ट्वीट गरेका थिए। जसको कारण उनी विरुद्धमा सेक्युरिटीज एण्ड एक्सचेन्ज आयोगमा मुद्दा चलेको थियो। उक्त मुद्दालाई कम्पनीका वकिलहरूले कम्पनीको बारेमा गरिने ट्वीटहरू पूर्व अनुमोदन गर्ने नियम पालना गर्ने भनेपछि मुद्दा सुल्झिएको थियो।

डेलावेयर कोर्ट अफ चान्सरीमा दर्ता गरिएको मुद्दाले स्टक बिक्री सम्बन्धी ट्वीटहरू पूर्व समीक्षा वा अग्रिम अनुमोदन गरिएको थियो वा थिएन भनेर पहिचान गर्न कागजातहरू सहित उनका ट्वीटहरूसँग सम्बन्धित रेकर्डहरु पेस गर्न भनेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।