मध्य भोटेकोसीको आजदेखि नेप्सेमा कारोबार खुल्यो: अधिकतम २८३.१७ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज

0
Shares

मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा खुला भएको छ ।

कम्पनीले गत बिहीबार दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत गरेपछि आइतबारदेखि दोस्रो बजारमा कारोबार खुला भएको हो ।

नेप्सेमा धितोपत्र सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबार खुल्ने व्यवस्था छ ।

बिहीबार कम्पनी र नेप्सेबीच प्रतिसेयर अङ्कित मूल्य १०० रुपैयाँको ६ करोड कित्ता सेयर नेप्सेमा सूचीकरण सम्झौता भएको थियो ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्तालाई निष्काशन गरेको एक करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीलाई निष्काशन गरेको छ लाख कित्ता, संस्थापक शेयरधनी संस्थामा काम गर्ने कर्मचारीलाई वितरण गरेको २१ लाख कित्ता र कम्पनीको संस्थापकको लगानी रहेको तीन करोड छ लाख कित्ता गरी कूल ६ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो ।

एमबिजेसी कारोबार संकेतमा कारोबार हुने, अधिकतम २८३.१७ रुपैयाँसम्म कारोबार रेञ्ज

नेप्सेका अनुसार मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर कारोबार एमबिजेसी (MBJC) कारोबार संकेतमा सुचारु हुनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्यूनतम ९४.३९ रूपैयाँ देखि अधिकतम २८३.१७ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असोज २० गतेदेखि असोज २५ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

उक्त आईपीओ कार्तिक १२ गते शुक्रबार गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २३ लाख ९० हजार २१८ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७२२ जनाको आवेदन रद्द भएको थियो । योग्य आवेदकको संख्या २२ लाख ९४ हजार ४९६ जना रहेको थियो । जस अनुसार ८ लाख १९ हजार जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । बाँकी १५ लाख ७१ हजार २१८ जना आवेदकको हात खाली भएको थियो ।

मध्य भोटेकोशी जलविद्युत् कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सर्वसाधारण समक्ष साधारण सेयरको बिक्री खुला गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।