आइएफआइसीको बंगलादेश बैंकमा रहेको सेयर तत्काल चौधरीलाई बिक्री नगर्न अदालतको आदेश


नेपाल बंगलादेश बैंकमा रहेको बंगलादेशी बैंक आइएफआइसीको सेयर विनोद चौधरीलाई किन्ने अन्तिम चरणमा पुगेको भएपनि तत्काल कार्यान्वयन नहुने भएको छ । काठमाण्डौं जिल्ला अदालतले आन्तरिम आदेश जारी गर्दै आइएफआइसी बैंकलाई तत्काल बिक्री प्रक्रिया अघि नबढाउन भनेको हो ।

विनोद चौधरीले आइएफआइसीले नेपाल बंगलादेश बैंकमा रहेको सेयर स्वामित्व खरिद गर्ने भएपनि नबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जरको संयुक्त समितिले समेत औपचारिक रुपमा काम सुरु गरिसकेको अवस्था छ । तर, आइएफआइसी बैंकले सनराइज बैंकका लगानीकर्ता समेत रहेका मोतीलाल दुगडलाई बिक्री गर्ने सहमति गरेर चौधरीलाई बेचेपछि दुगड अदालतको सहारा लिन पुगेका हुन् ।

नेपाल बंगलादेश बैंकमा आइएफआइसी बैंकको ४१ प्रतिशत सेयर लगानी रहेको छ । दुगड ग्रुपले नेपाल बंगलादेश बैंक र आइएफआईसी बैंकलाई विपक्षी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दाको सुनुवाई गर्दै न्यायाधीश रामचन्द्र पौडेलको इजलासले मंगलबार विपक्षीलाई सात दिनभित्र लिखित जवाफ माग गर्दै सातदिनको अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले नेपाल बंगलादेश बैंक र आइएफआइसीले दुगडसँग गरेको सहमति तोडेर चौधरीलाइ सेयर बिक्री गर्नुको कारण सात दिन भित्र दिन आदेश दिएको हो । दुगडले नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर १५७ रुपैयाँका दरले खरिद गर्न २०७७ चैत १७ गते राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट चैत २० गते स्वीकृत गरी करार गरी अघि बढिसकेको अवस्थामा आइएफआइसीले अर्को पक्षलाई बिक्री गरेपछि मुद्दा दायर गरेको हो । सनराइज बैंकमा लगानी गरेको दुगड समुहले आइसीएफआईसीको स्वामित्वमा रहेको एनबि बैंकको सेयर खरिद गरेर मर्ज गर्ने तयारीमा थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।