अवैध रूपमा खोप बेचबिखन गरिए सरकारले कारबाही गर्ने

अवैध रूपमा खोप बेचबिखन गरिए सरकारले कारबाही गर्ने

सरकारले कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखनको पाइएमा कारबाही गर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने जनाए ।

“अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने छ”, उहाँले जारी गर्नुभएको सूचनालाई भनिएको छ, “कोरोनाविरुद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ ।”

सरकारले खोप अभियान सञ्चालन गरी सबै नागरिकलाई खोप लगाइरहेको छ । अहिले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई र १८ वर्षभन्दा माथि सबैलाई खोप लगाइरहेको छ ।

औषधि पर्याप्त छ स्वास्थ्य मन्त्रालय

सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसको विरुद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको बताए ।

हाल नेपालमा सिटामोललगायत कुनै पनि औषधिको अभाव नरहेको उनको भनाइ छ । उनका अनुसार स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखासँग १० लाख र सरकारी फार्मेसीमा एक करोडभन्दा बढी सिटामोल छ ।

मन्त्रालयले सिटामोल लगायत औषधिको तत्काल अद्यावधिक गर्नका लागि सबै सरकारी अस्पताल, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिइरहेको छ ।

“यदि कुनै सरकारी अस्पतालका सिटामोल औषधि कम हुन आएमा नेपाल औषधि लिमिटेडसँगै सिधै सम्झौता गरी खरिद गर्न सकिने छ”, उनले भने, “सोहीअनुसार औषधि खरिद गरी बिरामीलाई सहज बनाउन हुन सबै सरकारी अस्पताललाई अनुरोध छ ।”

यसका साथै स्वास्थ्य सेवा विभागले पनि सिटामोल लगायत अन्य अत्यावश्यक औषधिको पनि खरिद प्रक्रिया अगाडि बढाइसकेको उनको भनाइ रहेको छ ।

ठूला अस्पताल र प्रादेशिक अस्पताललाई पनि अत्याश्यक औषधिको खरिद प्रक्रिया अगाडि बढाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ माघ २०७८, बुधबार १८ : २५ बजे