साढे ९ अर्बको विकास ऋणपत्र निष्काशन गर्दै राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले दुई वर्ष अवधिको लागि ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र २०८२ ‘च’ निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि सो ऋणपत्र जारी गर्न लगेको हो ।

केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सर्वसाधारण लगानीकर्ताबाट भने विगतमा विकास ऋणपत्र खरीदमा खासै चासो देखाएको देखिदैन । ब्याजदर भने बोलकबोल मार्फत निर्धारण हुनेछ । यसभन्दा अघि माघ १७ गते निपष्काशन भएको ४ वर्षे विकास ऋणपत्रको ब्याजदर ५.७२ प्रतिशत कायम भएको थियो ।

सो ऋणपत्र खरिदका लागि माघ २५ गते ३ बजेसम्म अनलाइन प्रणालीबाट बोलकबोल पेश गर्नुपर्ने छ । माघ २६ गते निष्काशन हुने ऋणपत्रको साँवा २०८० माघ २६ गते भुक्तानी गरिने छ भने अर्धबार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन दिने सकिने छ ।

ऋणपत्रमा प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने छ । प्रतिस्पर्धीको लागि ८५ प्रतिशत र अप्रतिस्पर्धीको लागि १५ प्रतिशत छुटयाईएको छ । यसअघि राष्ट्र बैंकले माघ १७ गते ४ वर्षे अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८२ ‘ङ’ निष्कासन गरेको थियो । निश्चित ब्याजदर दिई सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।