जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।
अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना सङ्कलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई यही माघ २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ परेका उनीहरुलाई लिखत् सम्बन्धी कसुरमा जिल्ला अदालत मार्फत म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
