महङ्गी विरुद्ध अमेरिकी केन्द्रीय बैंकले गरेको प्रयास असफल: अर्बपति लगानीकर्ता, बिल एक्मान

0
Shares

हेज फन्डका अर्बपति लगानीकर्ता बिल एक्मानले अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले महङ्गी नियन्त्रण गर्नको लागि गरेका प्रयासहरु असफल भएको बताएका छन् ।

४० वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्नको लागि फेडरल रिजर्भ (फेड)ले मार्च महिनाबाट औसत ब्याजदर बढाइरहेको छ । आक्रामक रुपमा फेडले औसत ब्याजदर बढाएपनि मुद्रास्फीतिमा कमी आएको छैन ।

मुद्रास्फीति दरमा कमी नआउनु र आर्थिक क्रियाकलाप कम गरिँदै जाँदा लगानीकर्ताहरु भयावित भई सेयर बजारमा व्यापक सेल अफ गरिरहेको उनले बताएका छन् । यस किसिमको गतिविधि बढ्दै जाँदा निकट भविष्यमा अर्थतन्त्र कोल्याप्स हुने अवस्थामा पुग्ने उनको भनाई छ ।

ट्वीट गर्दै उनले फेडले आकाशिएको मुद्रास्फीति नियन्त्रण गर्न नसक्नुले यसको विश्वसनीयतामा प्रश्न उठाएको जनाएका छन् । फेडले औसत ब्याजदर बढाएसँगै विश्व सेयर बजार ओरालो लागेको छ । फेडले आगामी महिनामा थप ब्याजदर बढाउने तयारी गरेको छ । यसले लगानीकर्ताहरुमा अन्योलता बढाएको उनको ठम्याइ रहेको छ ।

फेडले औसत ब्याज दर बढाउँदै जाँदा र मुद्रास्फीति नियन्त्रणमा नआउँदा त्यसको प्रभावले सेयरबजार क्रयास हुने सम्भावना रहेको र सेयरमार्केट क्रयास भएसँगै आर्थिक मन्दी निश्चित रहेको उनले बताएका छन् । फेडको कामले पूर्व पदाधिकारीहरुपनि असन्तुष्ट रहेको उनको भनाई छ ।

केन्द्रीय बैंकले अघि सारेको ह्याकिस मौद्रिक नीतिका कारण मुद्रास्फीति दर ८.२ प्रतिशतबाट बढेर दुई अङ्कमा पुग्ने डर लगानीकर्तामा स्थापित रहेको उनले बताएका छन् । यहि डरका कारण सेयरबजारमा लगानीकर्ता, कारोबारीहरुले सेयर खरिद बिक्री गर्न बन्द गरेको उनको गुनासो छ । उनी भन्छन्, “यदि फेडले आफ्नो काम सहि ढङ्गले गरेन भने मार्केटले फेडको काम गर्छ र अहिले त्यहि भइरहेको छ ।

जब सम्म फेडले आक्रामक रुपमा थप ब्याजदर बढाउँदैन या स्टक मार्केट क्रयास हुँदैन, त्यतिबेला सम्म मुद्रास्फीति नियन्त्रणमा आउँदैन र यसले अर्थतन्त्रलाई कोल्याप्स गर्छ । ” लगानीकर्ताहरुले मुद्रास्फीति क्षणिक हो, यसको अन्त्य हुन्छ भनेर आत्मबल बढाए भने विश्वव्यापी सेयर बजार पुनः माथि उठ्ने उनको धारणा छ ।

सन् २०२३ को सुरुवाती महिनामा ३ अर्ब अमेरिकी डलर बराबरको नेटवर्थ भएका बिलको अहिले नेटवर्थ घटेर २.८ अर्ब डलर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।