नेकपा (एमाले) का सांसद योगेश कुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेट मार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाएका छन् ।
उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा तलमाथि गरिएको आरोप लगाए ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याड लगायतका सामग्रीमा कर वृद्धि गरिएको र अनधिकृत व्यक्तिलाई बजेट निर्माणको अन्तिम दिन प्रवेश गराइएको आरोप लगाए । उनले अर्थमन्त्रीले संसद्को बैठकमा त्यसबारेमा जानकारी गराउनुपर्ने माग गरेका छन् ।
उनले विभिन्न देशका अर्थमन्त्रीले करको दरहरु अगाडि नै खुलासा गरेवापत अर्थमन्त्रीले राजीनामा दिएको उदाहरण दिँदै नेपालमा लागू हुन्छ की हुन्न भन्दै सभामुख मार्फत प्रश्न गरेका थिए । उनले भने, “राजश्वका दर, भन्सार र करका दरहरुबारे हामीले कतिपय कुराहरु उठाउँदै आएका थियौं । हामीले भनेका थियौं विद्युतीय गाडीमा अन्तशुल्क किन लगाईयो ? किन भन्सार बढाईयो ? स्वास्थ्य बीमाको जिम्मा निजी कम्पनीलाई किन दिने भनियो ? फलाम र फलामजन्य वस्तुको बिषय र जुत्ता चप्पल र स्यानिटरी प्याडको कुरा उठेको थियो । जेठ १४ गते मध्यरातमा भन्सार र करका दरहरु कसरी हेरफेर भयो ? मध्यरातको १२ बजे अमूक व्यक्तिले मन्त्रालयका उच्च पदस्थहरुको बीचमा गएर बजेट कसरी बनाए ? ”
विद्युतीय गाडी र स्यानीटरी प्याडमा गरिएको करको व्यवस्था पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनियता भङ्ग नगर्ने भन्दै खाएको सपथ विपरित भएको भन्दै भट्टराइले बजेट बनाउँदा अनाधिकृत व्यक्तिलाई प्रवेश दिएको भन्दै राष्ट्रघात भएको जिकिर गरे । यसमा अर्थमन्त्रीले स्पष्टीकरण दिनुपर्ने तथा प्रधानमन्त्रीको समेत भनाई पनि आउनुपर्ने उनको भनाई छ । उनले सत्तारुढ र विपक्षी सहित सिंगो संसदको ध्यानाकर्षण हुनुपर्न बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
