इजरायल बस्दा सिकेको सीपबाट तेल र मसलाबिनाको अचार निर्माण, अन्य जिल्लामा पनि बढ्यो माग

इजरायल बस्दा सिकेको सीपबाट तेल र मसलाबिनाको अचार निर्माण, अन्य जिल्लामा पनि बढ्यो माग

अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छाँै । तर तेल र मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका होला ।

भरतपुर महानगरपालिका–४ आनन्दपुर निवासी पूर्णकला सुवेदी चापागाईँ अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थालेकी छिन् । दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उनले अहिले नेपालमा आएर प्रयोग गर्न थालेकी हुन् । रोजगारीको सिलसिलामा इजरायल पुगेकी चापागाईँ जहाँ काम गर्थिन् त्यही घरकी छोरी रुजा लिङ्दाले बनाएको अचार देखेर यो सीप सिकेकी हुन् ।

सन् २००६ मा रोजगारीका लागि जानुभएकी चापागाईँ सन् २०१६ मा नेपाल फर्किन । त्यसपछि पुस्तक व्यवसाय गरेकी उनी दुई वर्षपछि पर्वतमा भएको दुर्घटनामा परिन् । दुर्घटनामा परी गम्भीर घाइते बनेकी चापागाइँ अहिले आफ्नो शरीरमा केही सुधार भएपछि आफूले विदेशमा सिकेको सीपलाई प्रयोग गर्न थालेकी हुन् ।

चापागाईँ अहिले तेलबिना काँक्रो, खुर्सानी, गाँजर, चुकन्दर लगायतका अचार बनाइरहेकी छिन् । यी खाद्यवस्तुलाई उसिनेर घाममा सुकाएर अचार बनाउने गरेको उनले बताइन् । उठेर खासै हिँडडुल गर्न नसक्ने उनी आफ्नो सीपको प्रयोगका लागि छोराको साथ लिइरहेकी छिन् । कृषि विषय अध्ययन गर्दै आएका छोरा प्रशन्नले अहिले आमालाई पूर्णरूपमा साथ दिइरहेका छन् ।

व्यवसाय राम्रो भएमा आमालाई काममा सघाउन कर्मचारी राखेर काम अघि बढाउने उनको योजना छ । अचार बनाउनका लागि नुन, लसुन, अमिलो लगायतका सामग्री मात्रै प्रयोग गर्ने गरिएको उनले बताइन् । पूर्णकलाले भनिन्, “स्वास्थ्यवद्र्धक खानका लागि यो अचार निकै उपयुक्त हुन्छ ।” परीक्षण उत्पादनका रूपमा सुरु गरिएको यो व्यवसायलाई आगामी दिनमा व्यावसायिक बनाउने योजना उनको छ ।

खाँदा नयाँ स्वाद पाउने भएकाले अहिले तत्काल मन नपर्न सक्ने भन्दै उनले केही दिनमा व्यावसायिक रूपमा उत्पादन गरेर अचारलाई बजारमा लैजाने बताइन् । यही वैशाख १६ गतेदेखि चापागाईँले यो अचार बनाउन थालेकी हुन् । अहिलेसम्म १५० डब्बा अचार घरबाटै बिक्री भइसकेको छ । उनले भनिन्, “सुरुआती समयमा बजारमा अचार रुचाइन्छ कि रुचाइँदैन भनेर लागत मूल्यमा नै दिने गरेका छाैं ।” एक पटक प्रयोग गरेका ग्राहकले पुनः माग गर्ने गरेको उनको भनाइ छ । अहिले चितवन, पोखरा लगायतका स्थानबाट माग आइरहेको उनले जानकारी दिइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३१ जेठ २०७९, मंगलबार १० : २१ बजे