
धादिङको थाक्रे गाउँपालिकाले पुर्वाधार विकासमा जोड दिनेगरी आर्थिक वर्ष २०७९।८० का लागि ९२ करोड २८ लाख ११ हजार रुपैयाको बजेट ल्याएको छ ।
शुक्रबार सम्पन्न ११ औं गाउँसभा मार्फत उपाध्यक्ष यन्त्र बहादुर थापाले कुल ९२ करोड २८ लाख ११ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
गाउँसभाले कुल विनियोजित बजेटको ४२.६५ प्रतिशत अर्थात ३९ करोड ३६ लाख १६ हजार रुपैयाँ पुर्वाधार विकासतर्फ विनियोजन गरेको छ । यस्तै सामाजिक विकास तर्फ ३२ करोड २९ लाख ६० हजार (३५ प्रतिशत) बजेट विनियोजन गरेको छ ।
गाउँसभाले आगामी आर्थिक वर्ष २०७९।८० का लागि पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता दिँदै आर्थिक विकास, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शीर्षकमा बजेट विनियोजन गरिएको छ ।
पालिका उपाध्यक्ष थापाले गाउँसभामा प्रस्तुत गरेको बजेटमा कार्यालय तथा प्रशासनिक तर्फ ९ करोड ५० लाख, आर्थिक विकास तर्फ ८ करोड १९ लाख ४० हजार र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ २ करोड ९२ लाख ९५ हजारको बजेट विनियोजन गरेको छ ।
गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
