कृषि विकास बैंकको नाफा खस्क्यो, निक्षेप भन्दा कर्जा धेरै

0
Shares

कृषि विकास बैंक (ADBL) को नाफा उच्चदरले घटेपछि प्रतिसेयर आम्दानीमा ठूलो गिरावट आएको छ । नाफा खस्केपनि बैंकको वितरण योग्य मुनाफाले भने छलाङ मारेको छ ।

बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको भन्दा २६.१६ प्रतिशत कम हो । अघिल्लो आवमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको थियो ।

गएको वर्ष २० प्रतिशत बोनस बाँडेर चुक्तापूँजी १३ अर्ब १८ करोड ७९ लाख पुर्याएको बैंकको नाफा घटेपछि प्रतिसेयर आम्दानीमा ठूलो गिरावट आएको छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २१ पैसाले घटेर १७ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

बैंकले वितरणयोग्य मुनाफामा भने छलाङ लिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा १२५ प्रतिशत वृद्धि हुँदा वितरणयोग्य मुनाफा ३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप २.२६ प्रतिशत मात्र बढ्दा कर्जा प्रवाह साढे १८ प्रतिशतले बढेको छ । यसअवधिमा बैंकले एक खर्ब ६६ करोड निक्षेप उठाएर एक खर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको कर्जा निक्षेप अनुपात नै ८९.१७ प्रतिशत छ ।

निक्षेप भन्दा धेरै कर्जा विस्तार गरेको बैंकको जोखिम पूर्ण कर्जा पनि उल्लेख्य मात्रामा बढेको छ। बैंकले कर्जा जोखिम व्यवस्थापनमा २९ करोड ५१ लाख रुपैयाँ छुट्याएको छ । बैंकको संचित मुनाफा ३ अर्ब ९० करोड तथा जगेडा कोषमा ११ अर्ब २२ करोड रुपैयाँ छ ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशतले बढेर ७ अर्ब ७७ करोड पुगेको छ। बैंकको फि तथा कमिसन आम्दानी भने ११ प्रतिशतले खुम्चिएको हो। बैंकको संचालन मुनाफा पनि सवा १८ प्रतिशतको गिरावट आएको छ ।

बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा तथा प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ २५ पैसा रहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।