बैंकहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन आग्रह

0
Shares

पोखरा उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले मुख्यमन्त्री पोखरेललाई भेटेर उक्त आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर वृद्धि गरेपछि पोखरा उद्योग वाणिज्य सङ्घसहित देशका निजी क्षेत्रसँग सम्बद्ध सङ्घरसंस्थाहरूले आपत्ति जनाउँदै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घले पनि ब्याजदर घटाउनुपर्ने, विभिन्न शीर्षकमा अनुचित सेवा शुल्क असुल्न बन्द गरिनुपर्ने लगायतका माग राख्दै सङ्घर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आन्दोलनका लागि सङ्घका अध्यक्ष प्रजापतिको संयोजकत्वमा एक सय एक सदस्यीय सङ्घर्ष समितिसमेत गठन गरिएको महासचिव बलराम आचार्यले जानकारी दिए ।

भेटघाटमा मुख्यमन्त्री पोखरेलले बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय ब्याजदर बढाएकोबारे आफू जानकार रहेको र ब्याजदर घटाउन पहल गर्ने आश्वासन दिए । “यस विषयमा प्रदेश सरकारले नेपाल राष्ट्र बैंकको प्रदेश कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूका प्रमुखसँग छलफल गरेर समस्या समाधानको पहल गर्नेछ”, उनले भने। प्रतिनिधिमण्डले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसँग पनि भेटघाट गरी यो समस्याबारे जानकारी गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।