बैंकहरुको ब्याज आम्दानीको तुलनामा खर्च वृद्धिदर उच्च, झनै घट्यो ‘रिटर्न अन इक्वीटी’

0
Shares

बैंकहरुले निक्षेप बढेको ब्याजदर ऋणीलाई हस्तान्तरण गर्न नसक्दा ब्याज आम्दानी भन्दा खर्च वृद्धिदर उच्च रहेको छ । बैंकहरुको ब्याज खर्च वृद्धिदर उच्च भएसंगै अन्य क्षेत्रबाट हुने आम्दानीमा पनि कमी आएपछि रिटर्न अन इक्वीटी पनि घटेको हो ।

बैंक भन्ने वित्तीकै कर्जा र निक्षेपको व्यवस्थापन गर्ने भन्ने बुझिन्छ । त्यतीमात्र नभई निक्षेपमा दिएको र कर्जामा लिएको ब्याजदरको अन्तर नै आम्दानीको मूख्य स्रोत हो । यसमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरु चुकेको देखिएको छ । बैंकहरुले कर्जा र निक्षेपको ब्याजदर अन्तर पनि नियामकीय सीमा ४.४२ प्रतिशतको नजिक पुगेको अवस्था छ । स्प्रेड बढाइ ब्याज आम्दानी बढाएपनि बैंकहरुको ब्याज खर्च वृद्धिदर आम्दानीको भन्दा निकै माथि रहेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोजमसान्तसम्ममा २६ बैंकहरुको कुल ब्याज आम्दानी एक खर्ब ४६ अर्ब २४ करोड रुपैयाँ रहेको छ । यो ब्याज आम्दानी गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा ५७.२२ प्रतिशत धरै हो । गत आवको सोही अवधिमा बैंकहरुले ९३ अर्ब २ करोड रुपैयाँ कुल ब्याज आम्दानी गरेका थिए ।

त्यसैगरी चालु आवको पहिलो त्रैमासमा बैंकहरुको ब्याज खर्च ९६ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । यो ब्याज खर्च गत आवको सोही अवधिको तुलनामा ७०.४६ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकहरुले ५६ अर्ब ६८ करोड रुपैयाँ ब्याज खर्च गरेका थिए।

यो तथ्याङकलाई हेर्दा पनि बैंकहरुको ब्याज आम्दानी वृद्धि ५७.२२ प्रतिशत हुदाँ ब्याज खर्च वृद्धि ७०.४६ प्रतिशत रहेको छ । चालु आवको पहिलो त्रैमासमा बैंकहरुको औसत स्प्रेड दर पनि ४.०३ प्रतिशत रहेको छ । यस्तो दर गत आवको सोही अवधिमा ३.३७ प्रतिशत रहेको थियो ।

चालु आवको पहिलो तीन महिनामा बैंकहरुको ब्याज आम्दानी बढेको भएपनि फि, कमिसन तथा टे«डिङ इनकम घटेको छ । चालु आवको असोजसम्ममा बैंकहरुको फि कमिसन आम्दानी ७.७५ प्रतिशतले घटेको छ भने ट्रेडिङ इनकम समेत ३९.७२ प्रतिशतले घटेको छ ।

बैंकहरुको ब्याज आम्दानी भन्दा खर्च वृद्धिदर बढेको अवस्थामा अन्य क्षेत्रका आम्दानी समेत घटेको हुनाले रिटर्न अन इक्वीटी घटेको एक बैंकरले बताए । बैंकहरुको नाफा रकममा हेरेर नाफा कमाए भनेर आरोप लगाउनु भन्दा पनि लगानीमा प्रतिफल दैनिक रुपमा घटिरहेको विषयलाइ सोच्नु पर्ने ती बैंकरको भनाइ छ । चालु आर्थिक वर्षको असोजसम्ममा बैंकहरुको रिटर्न अन इक्वीटी १२.२० प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकहरुको रिटर्न अन इक्वीटी १४.९ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले १८ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा गरेका छन । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३.५३ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकहरु १८ अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेका थिए । बैंकहरुको आम्दानी दर घट्ने र खर्चको दर बढ्दा नाफा वृद्धिमा समेत असर गरेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा बैंकहरुको निक्षेप वृद्धि ८.३७ प्रतिशत मात्र रहेको छ । यो अवधिमा कर्जा लगानी ६ प्रतिशतले मात्र बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।