महालक्ष्मी लाइफको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम सम्पन्न

0
Shares

 महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न देशैभरिका शाखा तथा उपशाखामा कार्यरत एजेन्सी म्यानेजर, चिफ एजेन्सी म्यानेजहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम कात्तिक २० गते चितवनको सौराहास्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ।

कार्यक्रममा देशैभरिबाट ७० जनाभन्दा बढी एजेन्सी म्यानेजरहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल/सीएफटी) सम्बन्धमा विस्तृत प्रशिक्षण गराइएको थियो।

गैरकानुनी कमाइ र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रका माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रक्रियाहरु के–के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले कार्यक्रमको महत्व तथा प्रभावकारिताका बारेमा प्रकाश पारेका थिए। कम्पनीका अनुपालन अधिकृत तथा चार्टर्ड एकाउन्टेन्ट कपिल आचार्यले कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण दिएका थिए।

यसका साथै कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला, विभागीय प्रमुख योगेशकुमार नेपाल, श्रीजन श्रेष्ठ र कम्पनीका बागमती प्रदेश प्रमुख रामप्रसाद भुसालको समेत उपस्थिति थियो।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।