विश्वका ठूला कम्पनीहरुले किन गर्दैछन् कर्मचारी कटौती ?

0
Shares

विश्व प्रसिद्ध कम्पनीहरुले भारी मात्रामा कर्मचारी कटौती गरिरहेका छन् । विश्व अर्थतन्त्र कमजोर बन्दै गइरहेका बेला उदयीमान ठुला कम्पनीहरुले एक पछि अर्को गर्दै कर्मचारी कटौतीको निर्णय गरिरहेका छन् ।

इ–कमर्स कम्पनी अमेजन देखि सूचना प्रविधि कम्पनी माइक्रोसफ्ट, सामाजिक सञ्जाल ट्वीटर, मेटा लगायतका विभिन्न कम्पनीहरुले हजारौँको सङ्ख्यामा कर्मचारीहरुलाई बर्खास्त गरिरहेका छन् ।

हालै अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफ)ले विश्व अर्थतन्त्र मन्दी उन्मुख रहेको जनाएको छ । ४० वर्ष यताकै उच्च मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले बढाएको ब्याजदर, उच्च ब्याजदरका कारण आर्थिक गतिविधिमा आएको कमी, रुस–युक्रेन युद्ध जारी रहँदा खाद्यान्न आपूर्तिमा आएको अवरोध, खाद्य संकट लगायतका कारणहरु दर्साउँदै आइएमएफले विश्व अर्थतन्त्र संकट उन्मुख रहेको औल्याउँदै आएको छ ।

आर्थिक गतिविधिहरु सुस्ताउदै गएको र विश्व अर्थतन्त्र संकट उन्मुख रहेको समयमा कम्पनीहरुले मन्दीको प्रतिरोधका लागि विभिन्न रणनीति अपनाइरहेका छन् । यस क्रममा ती कम्पनीहरुले कर्मचारी कटौतीलाई प्राथमिकतामा रखेका हुन् ।

यसै सातादेखि इ–कमर्स कम्पनी अमेजनले १० हजार कर्मचारी सङ्ख्या कटौती गर्ने घोषणा गरेको छ । सामाजिक सञ्जाल फेसबूकको प्यारेन्ट कम्पनी मेटाले अक्टोबर महिनामा आफ्नो आम्दानीमा आएको गिरावटलाई ध्यानमा राख्दै उच्च प्राभमिकतामा राखेका छोटो समयमा धेरै लाभ दिन सक्ने योजनाहरुमा काम गर्ने र मेटामा कार्यरत ३० प्रतिशत कर्मचारी कटौती गर्ने संकेत गरेको छ ।

४४ बिलियन डलरमा एलन मक्सले सामाजिक सञ्जाल ट्वीटरलाई अधिग्रहण गरे पछि मक्सले पनि कर्मचारी कटौतीलाई प्राथमिकतामा राखेका छन् । ट्वीटरको स्वामित्व आफ्नो हातमा लिएसँगै एलन मक्सले ट्वीटरमा कार्यरत आधा भन्दा बढी कर्मचारीहरुलाई बर्खास्त गरेका छन् । पहिलो चरणको कर्मचारी कटौतीमा ट्वीटरले ३ हजार ४ सय कर्मचारी कटौती गरिसकेको छ ।

यसैगरी माइक्रोसफ्टले पनि १ हजार बढी कर्मचारी कटौती गर्दै आगामी महिनाहरुमा पनि कर्मचारी कटौतीको शृङ्खला कायम रहने जनाएको छ ।

युवावर्ग माझ लोकप्रिय बनेको सामाजिक सञ्जाल स्नापच्याटले पनि गत साता मात्र १ हजार २०० कर्मचारी कटौती गरेको थियो ।

उल्लेखित कम्पनीहरुले कटौती गरेका कर्मचारीहरुमा अधिकांश भारतीय र चिनीया नागरिक रहेका छन् । उनीहरुलाई बिदाई गर्दै कम्पनीहरुले उपदान उपलब्ध गराए पनि तत्कालका लागि उनीहरु बेरोजगार बनेका छन् ।

जायन्ट कम्पनीहरुले नै ठुलो संख्यामा कर्मचारी कटौती गरेका कारण यी विषयहरु बाहिर आईरहेका छन् । नाम नचलेका ठुला, साना तथा मझैला कम्पनीहरुले पनि आर्थिक मन्दीको त्रासका कारण एक पछि अर्को गर्दै कर्मचारी कटौती गरिरहेका छन् ।

सबैले कर्मचारी कटौती मात्र गर्दै गर्दा निष्काशित जनशक्तिले तत्काल अर्को काम पाउलान वा नपाउलान भन्ने चासो बढिरहेको छ । यसले विश्व बजारमा बेरोजगारहरुको संख्या क्रमिक रुपमा बढाउने अनुमान गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।