स्वास्थ्य बीमा बोर्डले कैदी र थुनुवाको पनि स्वास्थ्य बीमा गर्ने

0
Shares

स्वास्थ्य बीमा बोर्डले कैदी तथा थुनुवाको पनि स्वास्थ्य बीमा गर्ने भएको छ । बोर्डले कैदी तथा थुनुवालाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्न कार्यविधि, २०७९ निर्माण गरेपछि बीमा गर्ने बाटो खुलेको हो ।

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा (३) को उपदफा ३ मा वृद्धाश्रम, अनाथलाई, बालसुधार गृह लगायतका संस्थाहरूमा आश्रित व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नुपर्ने प्रावधान छ । सोही बमोजिम बोर्डले प्रक्रिया अगाडी बढाएको हो ।

कार्यविधि सम्बन्धित कारागारहरुमा पठाईएको स्वास्थ्य बीमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दामोदर बस्यौलाले बताए । उनका अनुसार बोर्डले कारागारमा रहेका कैदी बन्दीको विवरण माग गरेको छ । अब कारागार व्यवस्थापन विभाग र स्वास्थ्य बीमा बोर्डबीच कैदी तथा थुनुवाहरूको स्वास्थ्य बीमा गर्ने सम्बन्धमा सम्झौता भएपछि बीमा कार्यक्रम अघि बढ्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत बस्यौलाले बताए ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन सम्बन्धित कारागारले नजिकको दर्ता सहयोगी वा अनलाइन माध्यमबाट दर्ता गर्न सक्नेछन् । कारागारबाट प्राप्त भएका विवरणहरूका आधारमा बोर्डले स्वास्थ्य उपचार बीमाको व्यवस्था गरी परिचयपत्र उपलब्ध गराउने छ । कम्तीमा एक वर्ष कैद अवधि बाँकी रहेका कैदी तथा थुनुवालाई मात्रै यस कार्यविधि अनुसारको स्वास्थ्य उपचार दिने बोर्डले जनाएको छ ।

बीमा गरिएको कैदी तथा थुनुवाहरूको बीमालेख वापतको रकम कारागार व्यवस्थापन विभागले बोर्डलाई उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख छ । बीमालेख जारी भएका कैदी तथा थुनुवाहरूको बीमा योगदान रकम प्रति परिवार ३५ सय रूपैयाँ तोकिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।