६ महिनामा साढे तीन लाख युवा विदेशिए, मलेसिया तर्फ आकर्षित नेपाली कामदार

0
Shares

विगत ६ महिनाको अवधिमा साढे तीन लाख भन्दा बढी युवा विदेशिएका छन् । गत बैशाख देखि असोज महिनासम्ममा तीन लाख ७२ हजार ३५४ युवाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छन् । जसमध्ये दुई लाख ३९ हजार ६०२ ले पहिलो श्रम स्वीकृति लिएर विदेशिएका हुन् ।

कोभिड संक्रमण नियन्त्रणपछि वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको संख्या ह्वातै बढेको छ । प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनलाई पनि वेवास्ता गर्दै युवाहरु विदेशिएको तथ्यांकले देखाएको छ ।

एकातिर सरकारले मुलुकभित्रै रोजगारीको अवसर सृजना गर्ने योजना सार्वजनिक गरेको छ भने अर्कोतर्फ राजनीतिक दलका नेताहरुले वैदेशिक रोजगारीलाई नै निर्वाचनको मुख्य एजेण्डा बनाए । प्रमुख दलका शिर्ष नेताहरुले नै निशुल्क टिकट निशुल्क भिसाको आवाश्सन दिदै जनताबाट भोट समेत माग्न भ्याए ।

गत बैशाखमा मात्रै २१ हजार ३१७ ले विभागबाट पहिलो श्रम स्वीकृति लिए । जेठमा ३४ हजार ८७, असारमा ३९ हजार ७४२, साउनमा ४२ हजार ७२९, भदौमा ५७ हजार ६९३ र असोज महिनामा ४४ हजार ३४ जनाले पहिलो श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारमध्ये अधिकांश मध्यपूर्व र मलेसिया पुगेका छन् । मध्यपूर्व र मलेसियामध्ये पनि धेरै कामदार मलेसियातर्फ हानिएका छन् । विगत ६ महिनाको अवधिमा एक लाख २२ हजार ६१८ नेपाली कामदार मलेसिया पुगे । यो संख्या विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको करिब ५० प्रतिशत हो ।

त्यस्तै, युनाईटेड अरब इमिरेट्स जाने नेपाली कामदारको संख्या २९ हजार ५३५ छ । त्यस्तै, दुई हजार ७८६ ले बहराईन जानको लागि विभागबाट श्रम स्वीकृति लिएका छन् । २० हजार ६५१ ले कुवेत रोजगारीको लागि स्वीकृति लिएका छन् । एक हजार ६५६ ले ओमान र २८ हजार ७७० ले नेपाली युवाले कतार रोजगारीका लागि विभागबाट श्रम स्वीकृति लिएका छन् ।

पछिल्लो समयमा नेपाली कामदारको रोजाईमा मलेसिया रोजगारी पर्न थालेको छ । मलेसियन सरकारले कामदारको पारिश्रमिक र सेवा सुविधा वृद्धि गरे पछि नेपाली कामदार पनि मलेसिया तर्फ आकर्षित भएका हुन् । त्यस्तै, मध्यपूर्वका अन्य मुलुकमध्ये मलेसियाको वातावरण नेपाल जस्तै भएकाले पनि नेपाली कामदार मलेसिया तर्फ आकर्षित भएका हुन् । वैदेशिक रोजगार विभागका अनुसार साउदी अरब लगायतका मुलुक गएका नेपाली कामदार नेपाल फर्केर मलेसिया जान थालेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।