दोस्रो पटक रोकियो इजरायल रोजगारी, ५६ कामदारको करारपत्र नै आएन

0
Shares

इजरायल रोजगारी फेरि रोकिएको छ । आप्रवासी कामदारका बिषयमा इजरायल सरकारले नीति परिवर्तन गरे पछि दोस्रो पटक इजरायल रोजगारी रोकिएको हो।

वैदेशिक रोजगार विभागका अनुसार इजरायल सरकारले केयर गिभरका लागि छनौट गरेका कामदारमध्ये ५६ जना नेपाली कामदारको हालसम्म पनि करारपत्र नै आएको छैन।

इजरायल सरकार नेपालबाट ११७५ जना कामदार केयर गिभर रोजगारीको लागि लैजान सहमत भएको थियो । इजरायलले शुरुवातमा एक हजार केयर गिभर लैजाने भने पनि पछि भने छनौट भएका ११७५ नै लैजाने मौखिक सहमति जनाएको श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । छनौट भएकामध्ये १०१९ इजरायल पुगी सकेका छन् भने ७० जना नेपाली कामदार इजरायल रोजगारीका लागि अयोग्य भएको विभागले जनाएको छ ।

भाषा र सिप परिक्षामा उत्र्तिण भए पनि यि कामदारहरु मेडिकल परिक्षणमा फेल भएपछि इजरायलको केयर गिभर भिसाका लागि अयोग्य भएको विभागको भनाई छ । त्यस्तै, केही कामदारले नक्कली कागजपत्र बुझाएका कारण विभागले अस्वीकृत गरेको विभागले जनाएको छ । त्यस्तै, बाँकी रहेको कामदारको हकमा इजरायल सरकारले सम्बन्धित क्षेत्रबाट नै कामदारको माग नभएकोले केही कामदार छनौट भएर पनि इजरायल जान नसकेको विभागको भनाई छ ।

श्रम मन्त्रालयले भने इजरायल सरकारले विदेशी कामदार भर्ना प्रक्रिया नीतिमा फेरबदल गरेपछि नेपाली कामदार लैजाने प्रक्रियामा ढिलाई हुन थालेको बताएको छ । इजरायल सरकारले विदेशी कामदार भर्ना प्रक्रियालाई परिवर्तन गरी सशुल्क बनाएको छ ।

इजरायल सरकारले यसअघि इजरायल लैजाने विदेशी कामदार भर्ना प्रक्रिया निशुल्क बनाएको थियो । नीति परिवर्तन गरी सशुल्क बनाएपछि इजरायल रोजगारदाता हच्किएको हुन सक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दाबी छ । शुल्कको व्यवस्था गरे पछि रोजगारदाताको मनस्थिति परिवर्तन हुनु स्वभाविक भएको मन्त्रालयले जनाएको छ ।

गत चैत महिना देखि असार महिनासम्ममा इजरायल नेपाली कामदार लैजाने प्रक्रिया रोेकेको थियो । तत्कालिन समयमा इजरायल स्थित परराष्ट्र मन्त्रालयका कर्मचारीले श्रमका बिषयलाई लिएर आन्दोलन शुरु गरे पछि नेपाली कामदार लैजाने प्रक्रिया रोकिएको थियो।

गत असारमा इजरायलको सो समस्या समाधान भएपछि पुन: नेपाली कामदार इजरायल गएका थिए । तर, कामदार जान शुरु भएको एक महिना नबित्दै गत भदौ देखि फेरि नेपाली कामदार इजरायल लग्ने प्रक्रिया रोकिएको छ । यस पटक इजरायल सरकारले आप्रवासी कामदारको बिषयमा ल्याएको नयाँ नीतिका कारण प्रक्रिया ढिलो भएको हुन सक्ने मन्त्रालयको अनुमान छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।