“श्रमिकसँग श्रम मन्त्री”, १० जना श्रमिकले मन्त्रीसँग पोखे ठगिएको गुनासो

0
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरसँग १० जना श्रमिकले फोन मार्फत गुनासो गरेका छन् । श्रम मन्त्रालयले सञ्चालन गर्दै आएको “श्रमिकसँग श्रम मन्त्री” कार्यक्रममा श्रमिकहरुले मन्त्री कुँवरलाई फोन मार्फत आफना गुनासा पोखेका हुन् ।

मन्त्रीसंग श्रमिकहरुले वैदेशिक रोजगारीमा ठगिएका सबैभन्दा बढि गुनासा र समस्याहरु राखेका छन् । मन्त्री कुँवरसंग श्रमिकहरुले सम्झौता अनुसार विदेशमा आफुले तलव सुविधा नपाइएका, विदेश पठाउँछु भनेर ७ लाख ५० हजारसम्म पैसा लिएको गुनासा सुनाएका थिए । फोनमार्फत मन्त्री कुँवरलाई दुवई, मलेशिया, साउदी लगायतका देशमा रोजगारीका लागि जाँदा ठगिएको गुनासाहरु बढि आएको श्रम मन्त्रालयले जनाएको छ ।

एकजनाले श्रमिकले सुर्खेतबाट फोन गर्दै आफुलाई क्यानडा पठाइदिने भन्दै करिब ६ लाख ठगेको गुनासो मन्त्री कुँवरलाई सुनाएका थिए ।

दशजना श्रमिककै गुनासा र समस्याहरु सुनेपछि जवाफमा मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुपुर्व जान लागेको देश, आफुले गर्ने काम, पाउने सेवा सुविधा, पठाउने म्यानपावर वा ब्यक्तिका बारेमा राम्ररी बुझ्ने, जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्ने लगायतका कुरामा ध्यान दिन श्रमिकलाई आग्रह गरे ।

साथै मन्त्री कुँवरले श्रमिकका तत्काल समाधान हुने गुनासा र समस्याहरुबारे सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन दिएका छन् । साथै कार्यक्रममै मन्त्री कुँवरले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि वैदेशिक रोजगार विभाग र बोर्डका सम्बन्धीत व्यक्तिलाई अनुरोध समेत गरे ।

मन्त्रालयले प्रत्येक आइतबार विहान ११ बजे देखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।