सेञ्चुरी बैंकको पौने ४८ करोड बराबरको लाभांश सुरक्षित गर्ने आज अन्तिम

0
Shares

सेञ्चुरी कमर्सियल बैंकको ४७ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ ।

बैंकले पुस १४ गते बिहीबार साधारण सभा डाकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ४ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज पुस ३ गते आइतबारसम्म नेप्सेमा कारोबार भइ कायम सेञ्चुरी बैंकका सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले गत आर्थिक वर्ष २०७८।७९ बाट प्रस्ताव गरेको लाभांश अनुमोदन र प्रभु बैंकसँग विलय प्रकृयामा जाने प्रमुख एजेण्डा राखेर सभा डाकेको छ । बैंकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ९ बजे बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सेञ्चुरी बैंकले सभा मार्फत चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ४५ करोड ७६ लाख ९४ हजार रुपैयाँ लाभांश बाँड्ने छ ।

हाल बैंकको चुक्ता पुँजी चुक्ता ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १५८ रुपैयाँ रहेको छ । जसअनुसार बैंकले चुक्ता पुँजीको ४.७५ प्रतिशतले हुन आउने ४५ करोड ३८ लाख १० हजार ६४६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५ प्रतिशतले हुन आउने रकम २ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभाशं वितरण प्रस्ताव पारित गर्नेछ ।

यस्तै सेञ्चुरी बैंक र प्रभु बैंक १ बराबर १ अनुपात (सेञ्चुरी बैंकको १०० कित्ता बराबर प्रभु बैंकको १०० कित्ता) मा एक्विजिशनमा जाने प्रस्ताव अनुमोदन गर्नेछ । सभाले सेञ्चुरी बैंकले प्रभु बैंकसँग एक्विजिशनमा जानका लागि मर्जर तथा प्राप्ती सम्बन्धमा भए गरेका सम्पूर्ण कार्य अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्ने प्रस्ताव राखेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।