सेयर बजार विश्लेषक रविन्द्र भट्टराईको जीवन बीमा किताब बजारमा

0
Shares

सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले जीवन बीमा किताब बजारमा ल्याएका छन् ।

लामो समय सम्म वित्तीय साक्षरतामा कलम चलाइ रहदा त्यस भित्रको अभिन्न अंगका रुपमा लिइने जीवन बीमालाई पनि समेट्न आवश्यक ठानेका कारण जीवन बीमा पुस्तक तयार गरेको भट्टराइ बताउँछन् ।

पाठकहरुको बढ्दो रुचि, बदलिदा वित्तीय आवश्यकता र बीमाको फैलदै गएको बजारले यसको आवश्यकता अझ बढी देखिएको छ। बीमा बजारको गुणस्तरीयतामा बृद्धि, जीवन बिमा अभिकर्ताको क्षमता अभिबृद्धि गर्न बीमा ऐन र नियमावलिमा भएका पछिल्ला व्यवस्थाको उदेश्य पूरा गर्न यसले सहयोग पुर्याउने उनको भनाई छ ।

बीमा गर्न चाहने, बीमाको आवश्यकता बुझ्न चाहने अनि बीमा अभिकर्ताका रुपमा काम गर्न चाहने र गरिरहेका तथा बिमा बजारको नियमन गर्ने सवै पक्षलाई यो पुस्तकले सहयोग पुर्याउने छ । यसले भर्खरै आएको बीमा ऐन २०७९ का व्यवस्था, बिमा प्राधिकरणका निर्देशनहरु र जीवन बिमाको क्षेत्रमा भएका अन्तराष्ट्रिय अभ्यासलाइ समेत समेटेको छ ।

मानिसको वित्तीय योजना (फाइनान्सियल प्लानिङ) भित्र दैनिक खर्च व्यवस्थापन, लगानी, निवृत्त जीवनको वित्तीय योजना, कर सँगै जीवन बीमा पनि पर्छ । जीवन बीमा मानिसको जीवनलाई आधार बनाएर गरिने बीमा हो । जुन धेरैका लागि कम रुचि तर बढी आवश्यकताको बिषय पनि हो ।

यस्तै जीवन बीमालाई आवश्यकता अनुसार जीवनमा कसरी अधिकतम प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सर्वसाधारणलाई जानकारी दिनु पनि यो पुस्तकको उदेश्य हो । जसरी हामी लगानीका विविध विकल्पहरुलाई हाम्रो लक्ष वा योजनासँग जोड्छौं जीवन बीमालाई पनि हाम्रा विभिन्न आवश्यकता सँग जोड्दै लग्न सकिन्छ ।

जस्तो बचत, बच्चाको शिक्षा, विवाह, निवृत्त जीवनका लागि आवश्यक पैसा, परिवारको वित्तीय सुरक्षा, मृत्यु पछि सम्पत्ति हस्तान्तरण, सम्पत्ति हस्तान्तरणमा लाग्ने करको व्यवस्थापन, मृत्यु संस्कारमा लाग्ने खर्चको व्यवस्थापन जस्तो धेरै विषयलाई जोडेर जीवन बिमाको प्रयोग गरि बित्तीय योजना बनाउन सकिन्छ । यसैले जीवन बिमा मृत्यु पछि धनी बन्न गरिने लगानी हो भन्ने धेरै मानिसको बुझाइ भन्दा धेरै फरक पनि छ ।

भट्टराईले यसअघि सेयर मन्त्र, सेयरबाट करोडपति, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण, हाउ टु इन्भेष्ट इन स्टक मार्केट जस्ता पुस्तक लेखिसकेका छन् ।

पाठकका रुचि, बिचार, सल्लाह र सुझाव नै लेखनको महत्वपूर्ण उर्जा रहेको भट्टराई बताउछन भने उनले बिमा प्राधिकरणका ऐन, नियम, निर्देशिकाहरुमा ल्याइएका परिवर्तन सँगै पुस्तकलाई समय सापेक्ष परिमार्जन गर्दै जाने प्रण पनि गरेका छन । २१६ पेज रहेको यो किताबको मूल्य ३६५ रुपैयाँ राखिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।