एक महिनामा नै एक अर्ब भन्दा बढीको ७ हजार ६५० पोलिसी सरेण्डर

0
Shares

जीवन बीमा कम्पनीहरुले बिक्री गरेको पोलिसीमध्ये मंसिर महिनामा मात्रै ७ हजार ६५० वटा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार एक अर्ब एक करोड ६३ लाख रुपैयाँ बराबरको सो संख्यामा पोलिसी सरेण्डर भएको हो ।

प्राधिकरणको तथ्यांक अनुसार नेपाल सञ्चालित १९ वटा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै पोलिसी सरेण्डर भएको छ । उसो त नेपालको जीवन बीमा क्षेत्रको ठूलो हिस्सा पनि नेपाल लाइफको नै रहेको छ ।

मंसिर महिनामा मात्रै नेपाल लाइफ कम्पनीको २ हजार ४७२ वटा पोलिसी सरेण्डर भएको छ । कम्पनीको ३३ करोड १ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।

त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड २३ लाख रुपैयाँ बराबरको एक हजार ४५३ वटा पोलिसी सरेण्डर भएको छ । राष्ट्रिय बीमा कम्पनीको ७ करोड ९७ लाख रुपैयाँ बराबरको ७६२ वटा पोलिसी सरेण्डर भएको छ । नेशनल लाइफको पनि ११ करोड ८६ लाख रुपैयाँ बराबरको ७१० वटा पोलिसी सरेण्डर भएको छ ।

नयाँ कम्पनीहरुसँगै जीवन बीमा क्षेत्रमा पोलिसी सरेण्डरको क्रम पनि बढ्न थालेको छ । बैंक तथा वित्तीय क्षेत्रमा बढेको ब्याजदरका कारण पोलिसी सरेण्डरको क्रम बढेको केही बीमकहरुको दाबी छ । तर, कम्पनीहरुले अस्वस्थ्य प्रतिस्पर्धा गरेकै कारण पोलिसी सरेण्डर बढेको बीमा विज्ञहरु बताउँछन् ।

प्राधिकरणको तथ्यांक अनुसार मंसिर महिनामा मात्रै कम्पनीहरुले १० लाख एक हजार १९९ पोलिसी जारी गरेका छन् । कम्पनीहरुले प्रथम बीमाशुल्क बापत दुई अर्ब १५ करोड ३६ लाख रुपैयाँ संकलन गरेका छन् भने नवीकरणीय बीमाशुल्क बापत ११ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेका छन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।