वैदेशिक रोजगारीमा रोकिएन ठगी, गत वर्ष दुई हजारले दिए उजुरी

0
Shares

वैदेशिक रोजगारीमा गएका कामदारहरु ठगी क्रम बढ्दै गएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ अनुसार गत आर्थिक बर्ष २०७८/७९ मा मात्रै दुई हजार भन्दा बढी कामदारले आफु ठगिएको उजुरी दर्ता गरेका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार गत आवमा दुई हजार ५१ जना पुरुष कामदारले आफु ठगिएको भन्दै उजुरी दिए भने ५७ जना महिला कामदारले ठगिएको उजुरी दिएका छन् । अघिल्लो आवमा भने जम्मा ९३३ जना पुरुषले ठगिएको उजुरी दिएका थिए भने ५२ जना महिलाले ठगिएको उजुरी दिएको मन्त्रालयको तथ्यांक छ । त्यस्तै, आव २०७५÷७६ मा भने ४२९ पुरुष र १६ महिलाले ठगिएको उजुरी दिएका थिए ।

वैदेशिक रोजगारीमा गएका कामदारको गुनासो सम्बोधनका लागि श्रम मन्त्रालयले २०७५ साल देखि कल सेन्टर सञ्चालनमा ल्याएको छ । श्रमिकले यथास्थानबाट नै विभिन्न अनलाइन माध्यमबाट कुनै पनि खालको समस्या परेको सुचना कल सेन्टरमा दिन सक्नेछन् । मोवाइल नम्बर, मेसेन्जर, ह्वाटएप, भाइबर, इमो लगायतका माध्यमबाट आफनो समस्या तथा उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थासँगै मन्त्रालयमा विभिन्न खालका गुनासो आउने गरेको मन्त्रालयका कर्मचारी बताउँछन् । कल सेन्टरमा आउने गुनासोलाई सम्बन्धित निकायमा सिफारिश गरी समस्या समाधान गरिने सेन्टरले जनाएको छ ।

त्यस्तै, गत आवमा मात्रै पासपोर्ट, अन्य कागजपत्र रोजगारदाता कम्पनीले नै राखीदिएको भन्दै १२१ जना पुरुष कामदार र ११ जना महिला कामदारले उजुरी गरेका थिए । साथै गन्तब्य मुलुकबाट उद्धार गरिदिन भन्दै ४०१ पुरुष र २८ जना महिला कामदारले उजुरी गरेको मन्त्रालयले जनाएको छ ।

गन्तब्य मुलुकको जेलबाट उद्धार गरिदिन भन्दै १४९ पुरुष र १४ जना महिला कामदारले उजुरी गरेका थिए भने गन्तब्य मुलुकमा आफन्त हराएको भन्दै १६३ पुरुष र १४ जना महिला कामदारले मन्त्रालयका उजुरी दर्ता गरेको मन्त्रालयको तथ्यांक छ ।

पासपोर्ट र पारिश्रमिक नै जफत गरिदिएको भन्दै १७९ पुरुष र ४ महिला कामदारले मन्त्रालयमा सम्पर्क गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।