आईपीओको तयारीमा रहेको नर्भिक अस्पतालद्वारा बम्पर लाभांश पारित

0
Shares

आईपीओ निष्कासनको योजना सहित पब्लिक लिमीटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभाले लाभांश बढाएर पारित गरेको छ ।

शुक्रबार थापाथलीस्थित बिएलसीको सभाकक्षमा सम्पन्न दोश्रो साधारणसभाले सञ्चालक समितिबाट भएको प्रस्तावमा संसोधन गर्दै लाभांश केही बढाएर पारित गरेको हो ।

यसअघि सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरणको निर्णय गर्दै सोही प्रस्ताव साधारणसभामा लगेको थियो । सञ्चालक समितिले लगेको प्रस्तावअनुसार २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(करसहित) वितरण गरिने थियो ।

तर, साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  साधारण सभाको उद्घाटन नर्भिक अस्पतालका संरक्षक बसन्त चौधरी र अस्पतालको सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए ।

हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएसँगै अब चुक्तापूँजी बढेर २७ करोड रुपैयाँ पुगेको छ ।

साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/७९, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने लगायतका अजेण्डाहरु पनि पारित भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।