फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३८ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ ।
चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले १४ करोड ४४ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १० करोड ४४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २६ प्रतिशत र सञ्चालन नाफा ३८ प्रतिशत वृद्धि भएसँगै नाफामा सुधार आएको हो । कम्पनीले चालु आवको ६ महिना अवधिमा ८ अर्ब ७३ करोड ७३ करोड सापटी लिएर १० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४६ हजार रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी २५ रुपैयाँ १८ पैसा रहेको छ । अघिल्लो आवको सोही अवधिमा २१ रुपैयाँ ६६ पैसा इपीएस रहेको थियो ।
कम्पनीको जगेडा कोषमा २३ करोड ९७ लाख र रिटेण्ड अर्निङमा १४ करोड २० लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ९ करोड ८६ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा फर्स्ट माइक्रोफाइनान्सको खराब कर्जा अनुपात ०.१७ प्रतिशत, प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २७ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९०४ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात २६.९३ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
