रुसद्धारा युक्रेनमाथि क्षेप्यास्त्र वर्षा

रुसद्धारा युक्रेनमाथि क्षेप्यास्त्र वर्षा

रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा क्रेमलिनले प्रभाव जमाउने उद्देश्यका साथ आज बिहानैदेखि हवाई हमला गरेको छ ।

रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस–३०० मिसाइल र सात शाहेद ड्रोन प्रहार गरेको छ । क्षेपण गरेको युक्रेनका सैन्य प्रमुख जनरल भ्यालेरी जालुज्नीले बताए ।

क्रेमलिनको सेनाले युक्रेनको औद्योगिक क्षेत्रलाई आक्रमणका निशाना बनाएको छ । विशेष गरी लुहान्स्क र डोनेस्क प्रान्तलाई उसले मुख्य लक्ष्य बनाएको छ । युक्रेनी ऊर्जा प्रणालीलाई नष्ट गर्न रुस लागिपरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

यसैबीच, युक्रेनी वायुसेनाले आफ्नो प्रतिरक्षा प्रणालीले ७१ वटा रुसी क्षेप्यास्त्रमध्ये ६१ वटा खसालेको दाबी गरेको छ । “शत्रुले युक्रेनको महत्वपूर्ण पूर्वाधारमा ठूलो मिसाइल आक्रमण गरेको र उसका ६१ वटा क्षेप्यास्त्र नष्ट भइसकेका छन्,”एक जना सैनिक अधिकारीले एपीसँग भने ।

थप हतियाका निम्ति युक्रेनी राष्ट्रपतिको अनुरोध

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संघमा आबद्ध देश तथा अन्य आफ्ना सहयोगीलाई थप हतियार उपलव्ध गराउन आग्रह गरेका छन् । साथै उनले युक्रेनलाई शीघ्र संघको सदस्यता प्रदान गर्न अनुरोध पनि गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनलाई युद्ध जित्नका लागि लामो समयसम्म अथक सहयोग गर्न संघका नेताहरूले सहमति जनाएका बताएका छन् ।

युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् यही महिनाको २४ तारिखमा क्रेमलिनले भीषण आक्रमण गर्ने ठानेको किएभले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन थप हतियार सहायता माग गरेको हो ।


युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले पनि युक्रेनलाई सघाउने बाचा गर्नुभएको छ । आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले नयाँ १० अर्ब युरो प्रतिबन्ध प्याकेजले रूसलाई आवश्यक पर्ने सैन्य सामानहरूबाट वञ्चित गर्ने बताउनुभएको छ ।

यसअघि जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपर्ड–१ युद्ध ट्याङ्क उपलव्ध गराउने घोषणा गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ माघ २०७९, शनिबार १२ : ११ बजे