मीरगञ्ज पुल सञ्चालन गर्न भारतीय कष्टम विभागको अनुमति, बिराटनगरबाट सुरु भयो आयात निर्यात


चार लेन सडक सहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक बर्ष पछि आधिकारिक रुपमा सुचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।

मोरंग ब्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल संचालन गर्न दिइएको दवावको कारण दुई महिना अघिबाट नै पुल अनौपचारिक रुपमा संचालनमा आएको थियो ।
यो अनुमतिले भारत लगायत तेश्रो मुलुकबाट आउने कच्चा पदार्थ लगायतको सामाग्री बोकेका मालवाहक ११६ किलोमिटर सुनसरीको भण्टावारी नाकाबाट घुमेर आउनु पर्ने झन्झटबाट मुक्त भएका छन् । अब ४ किलोमिटर दुरी पार गर्नासाथ नेपालको आइसीपी आइपुग्छन ।

भारतको पटना स्थित कष्टम विभागले सुचना जारी गरी नयाँ मीरगञ्ज पुल संचालनमा आएको र त्यसबाट मालवाहक आवत जावत गर्ने अनुमति दिइएको जनाएको छ । यस अघि भारतका जोगवनी स्थित ल्याण्ड कष्टम र आइसीपी बिच समन्वय हुन नसक्दा आंशिक रुपमा मात्रै मालसामानको कार्गाे आयात निर्यात भइरहेको थियो । कष्टम विभागले नै सुचना जारी गरेपछि अब तेश्रो मुलुकबाट आउने र जाने सामानका लागि भण्टावारी नाका पुग्नु नपर्ने जनाउदै आफ्ना मातहतका सबै निकायलाई बोधार्थ दिँदै सुचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ । सूचनासंगै विराटनगरको आइसीपीबाटै आयात र निर्यात औपचारिक सुरु भएको छ ।

मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालको अगुवाईमा पटक पटक नेपाल र भारतीय अधिकारीलाई पुल संचालनका लागि अनुरोध गरिएपछि अनौपचारिक रुपमा दुई महिना देखी पुल संचालनमा आएको थियो । पुल संचालनमा आएपनि भारत र नेपालका लागि मात्र कार्गाे आउने जाने गर्दथे । तेश्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टावारी नाकानै प्रयोग हुँदै आएको थियो । तर अहिले भारतको कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गर्दै मीरगञ्ज पुल हुँदै आवत जावत खुलेको जनाएको हो ।

उनले यस अघिको २०२२ जनवरी ११ को सूचनाले जारी गरी मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गाेको आवत जावत यो नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सुचारु गरिएको सुचना जारी गरेको थियो । अहिले उक्त सुचनाले रोकेको आवत जावतको प्रतिबन्ध फुकुवा गर्दै भीमनगर तर्फको रिरुट खारेज गरि पुल निर्माण सम्पन्न भएकाले पहिलेकै अवस्थामा जोगवनी भन्सार र आइसीपीबाट माल आवत जावतका लागि सबैलाई जानकारी दिइएको जनाएका छन् ।

एक बर्षपछि भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल संचालनमा आएको छ ।

पुल पूर्ण रुपमा संचालनमा आएपछि अहिले दैनिक दुई सय सम्म मालवाहक सवारी साधान भारतीय कष्टम हँुदै विराटनगर आइसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

एउटा मालवाहक सवारी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नु परिरहेको थियो । मीरगञ्ज पुल भासिँदा एक बर्षमा २२ अर्ब ५० करोडले विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको थियो ।

जोगवनी नाकाबाट मालवाहक जान नसकेपछि सुनसरीको भण्टावारी नाकाबाट रिरुट भएर आउँदा एउटा कण्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए । जसको कारण एक बर्षमा व्यवसायीहरुले ११ करोड ५२ लाखको बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन् ।

मोरंग व्यापार संघमा निर्वाचित भएपछि आफूले मीरगञ्ज पुल संचालन गराएरै छाड्ने प्रतिबद्धता लिएका अध्यक्ष नवीन रिजालले आफ्नो कार्य समितिको सम्पूर्ण टिमनै पुल संचालन गर्नका लागि परिचालन गरेका थिए ।

भारतीय पक्षबाट समेत आधिकारिक रुपमा पुलसंगै नाका पनि संचालनमा आएको जानकारी दिएपछि हर्षित देखिएका रिजालले ‘यो सबैको अथक प्रयासको परिणाम भएको’ प्रतिक्रिया दिए । प्रदेश १ को औद्योगिक लाईफलाईनै ध्वस्त भएको बेला आफ्नो कार्यसमितिले निरन्तर रुपमा यो मुद्धालाई उठाएर समस्या समाधानका लागि पहल गरेको र पहलकै कारण एक बर्षमै पुल र नाका पूर्ण संचालनमा आएकोमा आफूले एउटा मिसन पुरा गरेकोमा गर्व लागेको रिजालले बताए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ फागुन २०७९, मंगलबार  १८ : २८ बजे