वाणिज्य बैंकहरुले माघमा २५ अर्ब निक्षेप बढाए, एनआइसी एसियाको हिस्सा ४७ प्रतिशत

0
Shares

चालु आर्थिक वर्षको सातौ महिना अर्थात माघमा वाणिज्य बैंकहरुले कुल २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । पुस महिनामा ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले माघमा २५ अर्ब मात्र संकलन गरेका हुन ।

पुस महिनामा कर्जाको साँवा ब्याज भुक्तानीका कारण बैंकहरुको निक्षेप बढेको थियो । त्यसका साथै मंसिर महिनामा संघिय र प्रादेशीक निर्वाचनका कारण बजारमा गएको पैसा समेत बैंकिङ प्राणलीमा फर्केको हुनाले पुसको निक्षेपमा समेत केही योगदान पुगेको थियो । तर, मा महिनामा बैंकहरुमा २५ अर्ब निक्षेप बढेको भएपनि कर्जा विस्तार भने १२ अर्ब मात्र भएको छ ।

गत पुस महिनामा बैंकहरुले ५४ अर्ब कर्जा लगानी गरेको बैंकर्स संघले जनाएको छ । यो अवधिमा राजस्व भूक्तानीका लागि तथा कर्जा नविकरण र कर्जाको साँवा ब्याज भूक्तानी गर्नु परेकाले कर्जा प्रबाह बढेको बैंकहरु बताउँछन् ।

माघ महिनामा बैंकहरुमा उच्च ब्याजदरका कारण केही निक्षेप बढेको देखिन्छ । त्यसका साथै रेमिट्यान्स बचत र मुद्दतीका लागि दिइएको विशेष अधिकारले पनि निक्षेप बढ्नमा सहयोगी भुमिका खेलेको छ । अन्यथा बैंकहरुमा नयाँ निक्षेप आएको अवस्था छैन् । उद्योगी व्यवसायीहरु पनि उच्च ब्याजदरका कारण व्यवसाय विस्तारको अवस्थामा छैनन् भने पुरानै कर्जाको दबाबमा भएका कारण बैंकहरुमा नयाँ स्रोतबाट निक्षेप थपिन नसकेको हो ।

पुसमा थपिएको ९५ अर्बको निक्षेपले माघ महिनाको ब्याजदरमा १.३३ प्रतिशतको विन्दुले घटाउन मद्दत ग्रयो । तर, माघ महिनाको अन्तिम देखि पुनः बैंकिङ प्रणालीको तरलताको अभाव र घट्दो क्रममा देखिएका अल्पकालिन दरहरु समेत बढेर उच्चतम विन्दुमा पुगेको अवस्था छ । यसले आगामी दिनमा तरलताको समस्या अझै जटिल बन्ने तथा ब्याजदर समेत बढ्न सक्ने देखिन्छ।

माघ महिनामा २२ वाणिज्य बैंक मध्ये १० वटाको निक्षेप घटेको छ । यो अवधिमा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप घटेको छ । एक महिनामा बैंकको निक्षेप ६ अर्ब ४९ करोड रुपैयाँले घटेको छ । त्यसैगरी प्रभू बैंकको ३ अर्ब ६२ करोड तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३ अर्ब ३२ करोड रुपैयाँ निक्षेप घटेको छ । तर, राष्ट्रिय वाणिज्य बैंकको भने १० अर्ब ७६ करोडले निक्षेप बढेको छ ।

माघ महिनामा २२ बैंक मध्ये ११ को कर्जा घटेको छ । सो अवधिमा सबैभन्दा धेरै कर्जा घट्ने बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकको २ अर्ब ५८ करोड रुपैयाँ कर्जा घटेको छ । त्यसैगरी प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा दुइ दुई अर्ब भन्दा धेरैले घटेको छ ।

धेरै निक्षेप लिने र कर्जा दिनेमा एनआइसी एसिया

चालु आर्थिक वर्षको माघ महिनामा सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा एनआइसी एसिया बैंक रहेको छ । बैंकले सो अवधिमा १२ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । साथै बैंकले ,उक्त महिनामा १५ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । माघ महिनामा सञ्चालनमा रहेका सबै बाणिज्य बैंकहरुको कुल कर्जा लगानी भने ११ अर्ब ८२ करोड मात्र रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।