कृषि विकास बैंकका सीइओ गुरुङको पदभार

0
Shares

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेसँगै गुरुङले सोमबार पदभार ग्रहण गरेका हुन् ।

सीइओ छनोट समितिले सीइओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको नाम बैंक सञ्चालक समितिलाई सिफारिस गरेको थियो ।

छनोट समितिले सिफारिस गरेका तीन जनामध्येबाट सञ्चालक समितिले गुरुङलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको हो । नवनियुक्त सीईओ गुरुङसँग देश तथा विदेशका बैंकङमा २६ वर्ष काम गरेको अनुभव रहेको छ ।

उनी यसअघि म्यान्माको म्यान्मा सिटिजन्स बैंकको प्रमुख कार्यकारीको भूमिकामा रहेका थिए । विदेशी बैंकको सीइओ बन्ने गुरुङ नै पहिलो नेपाली नागरिक हुन् । यसअघि उनी सिभिल बैंकको सीइओ समेत थिए ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।