बिल बिजक भन्दा बढी सामान बोकेको ट्रक र ट्याक्टर प्रहरी नियन्त्रणमा


बिल विजक भन्दा बढी विभिन्न किसिमका स्टेशनरी तथा खुद्रा सामानहरू बोकेको ट्रक र ट्याक्टर बीरगञ्ज प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सिया स्थित सडकखण्डबाट ना ५ ख ५४९४ ट्याक्टर र ना ३ ख १०२४ नम्बरको मालवाहक ट्रक नियन्त्रण लिएको हो ।

बिजकभन्दा बढी सामान लिएर गएको सूचनाका आधारमा खटिएको टोलीले फागुन ५ गते उक्त ट्रक तथा ट्याक्टर नियन्त्रणमा लिएको हो । जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको भन्दै प्रहरीले ९२ लाख ४८ हजार ८२२ रुपैयाँ बराबरको ट्रक, ट्याक्टर र सो ट्रक र ट्याक्टरमा लोड रहेको स्टेशनरी तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि ट्रक तथा ट्याक्टरलाई फागुन ८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।