घर तथा सम्पत्ति बीमा गराउनका लागि पहल गर्न महानगरपालिकासँग प्राधिकरणको आग्रह

0
Shares

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गराउनका लागि पहल गर्न महानगरपालिकासँग आग्रह गरेका छन् ।

गण्डकी प्रदेश कार्यालयको आयोजनामा कास्की जिल्लाको पोखरा महानगरपालिकामा यही फागुन ८ गते सोमबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सो आग्रह गरेका हुन् ।

अध्यक्ष सिलवालले आर्थिकरुपले सम्पन्न व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्न र विपन्न बर्ग पहिचान गरी बीमा गर्नका लागि आर्थिक सहायताको व्यवस्था गर्न पनि आग्रह गरे।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेबी गुरुङले बीमा दाबी भुक्तानीमा देखिएका समस्या समाधान गरी दाबी भुक्तानीलाई सरल बनाउन र बीमा सम्बन्धी नीति तथा कार्यक्रम तर्जूमामा महानगरलाई सहयोग गर्न प्राधिकरण सँग आग्रह गरिन्।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानी स्थानीयस्तरमा नै छिटोभन्दा छिटो गर्ने व्यवस्था गर्न प्राधिकरणले बीमा कम्पनीहरुलाई निर्देशन दिँदै आएको जानकारी दिए।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले महागरभित्रका घर लगायतका सम्पत्तिको बीमा गराउनका लागि महानगरपालिकाले पहल गर्ने बताए । कार्यक्रममा सहभागीहरुले बीमा दाबी भुक्तानी प्रक्रिया जटिल रहेको, बीमा कम्पनीबाट दाबी भुक्तानी पहुँचवालाले सहजै पाउने तर सामान्य नागरिकले दाबी भुक्तानी पाउन कठिन हुने गरेको, सरकार र महानगरपालिकाको अनुदानमा गरिएको कृषि तथा पशुपन्छीको बीमा दाबी भुक्तानी नहुने गरेको, हुँदै नभएको बाली र पशुको समेत बीमा गर्ने गरेको, बीमा कम्पनीले कम दाबी भुक्तानी दिने गरेको लगायतका गुनासाहरु राखेका थिए ।

निप्स, पोखरा शाखासँग अन्तरक्रिया

नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), पोखरा च्याप्टरसँग यही फागुन ८ गते पोखरामा बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नगर्न र पारदर्शीरुपमा काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिए ।

अध्यक्ष सिलवालले बीमा सर्भेयरहरुले समयमा नै प्रतिवेदन बुझाउनुपर्ने, एउटै सर्भेयरसँग धेरै फाइलहरु थन्किएर रहने अवस्था हटाउनुपर्ने र बीमा कम्पनीहरुले समयमै सर्भेयर शुल्क भुक्तानी गर्नुपर्ने बताए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐन बमोजिम एक कम्पनी एक अभिकर्ताको व्यवस्था कार्यान्वयनमा आएको र अभिकर्ताको परीक्षा अनलाइनबाट हुने व्यवस्था गरिएको जानकारी दिए ।

कार्यक्रममा सहभागी सर्भेयरहरुले सर्भेयरको परिक्षा, बर्गीकरण तथा संस्थागत योग्यताको व्यवस्था, सर्भेयर शुल्क, सर्भेयर पेशाको भविष्य, सर्भेयर पेशाप्रतिको आकर्षण लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।