बीमा कम्पनीहरुले बीमालेखका बारेमा स्पष्ट जानकारी नदिने गरेको बीमितहरुको गुनासो

0
Shares

नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन १० गते गण्डकी प्रदेशका तनहुँ जिल्लाको व्यास नगरपालिका र लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

तनहुँ जिल्लाको व्यास नगरपालिकामा भएको कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बीमाका बारेमा राम्रो जानकारी नहुँदा बीमितहरु अन्यौलमा पर्ने गरेको उल्लेख गर्दै बीमा कम्पनीहरुले बीमा गर्नुभन्दा अगाडि बीमालेखका बारेमा स्पष्ट जानकारी दिनुपर्ने बताए ।

प्रमुख न्यौपानेले सेवामुखी हुन र बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई आग्रह गरे ।

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी प्रस्तुती गर्दै ठोस नीतिगत व्यवस्था गरी बीमा कार्यक्रमलाई अगाडि बढाउन नगरपालिकासँग आग्रह गरे ।

कार्यक्रममा सहभागीहरुले प्रलोभनमा परेर बीमा गर्दा बीमाशुल्क बुझाउन नसक्ने अवस्था आएको, बीमा गर्नुभन्दा अगाडि बीमालेखका बारेमा राम्रोसँग जानकारी नदिने गरेको, एउटै बीमालेखको बीमाशुल्क कम्पनी अनुसार फरक फरक हुने गरेको, जीवन बीमा गर्दा स्वास्थ्य अवस्थाबारे नसोध्ने तर बीमा गरिसकेपछि भने दीर्घरोगी रहेको भन्ने गरेको लगायतका गुनासोहरु गरेका थिए ।

कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता, कृषक र संचारकर्मीहरु लगायत गरी करिव १०० जनाको सहभागिता रहेको थियो ।

यसैगरी, लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा आयोजित बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा अतिथि, मध्यनेपाल नगरपालिकाका वडा अध्यक्ष एवम् नगर प्रवक्ता रामचन्द्र भण्डारीले बीमा कम्पनीहरुले घर घरमा गएर बीमा गरे जस्तै बीमा दाबी भुक्तानी पनि घर घरमा नै गएर गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

उनले बीमाले विपद्का समयमा सरकारलाई आइपर्ने आर्थिक भार कम गर्न मद्दत गर्ने भएकाले एकद्वार प्रणालीमार्फत बीमा कार्यक्रमलाई अगाडि बढाउन महानगरपालिका अग्रसर हुने जानकारी दिए।

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले नगरपालिकाका नीति तथा कार्यक्रममा राखेर बीमा कार्यक्रमलाई अगाडि बढाउन नगरपालिकासँग आग्रह गरे ।

कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता, कृषक र संचारकर्मीहरु लगायत गरी करिव ९० जनाको सहभागिता रहेको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।